काठमाडौं, माघ ६ –कांग्रेसले अहिलेसम्म अवसर नपाएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझाबलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरूलाई उम्मेदवार बनाउने,’ कांग्रेस निर्णयमा उल्लेख छ । यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।
बैठकमा बोल्दै बालकृष्ण खाणले राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ भनेका छन्।
‘१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ,’ उनले भने।
यस्तै शेखर कोइरालाले हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्नेभन्दै उचित अवसर दिन माग गरेका छन्।
‘संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ,’ उनले भने, ‘मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।’
यसैगरी जीवन परियारले अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्याउ नहुने बताए। ‘केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ,’ उनले भने।