spot_img

कालीगण्डकी नदीबाट एक्साभेटर र ट्रिपर प्रहरीद्वारा पक्राउ


पर्वत, माघ ३– प्रहरीले कालीगण्डकी नदीबाट एक एक्साभेटर र एक ट्रिपरलाई आज बिहान (बुधबार) पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नदीमा एक्साभेटर प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको हो । कुश्मा–१ सहस्रधाराको कालीगण्डकी क्रसर उद्योगको एक्साभेटर र ट्रिपर समातेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए ।
उनकाअनुसार पक्राउ गरेको एक्साभेटर र ट्रिपर कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाउने तयारी भएको छ । निर्माण सामाग्री अभाव भएको बहाना बनाएर क्रसर ब्यवसायीले खुलमखुला नदीमा एक्साभेटर र डोजर लगाएर दोहन तिब्र पारेका हुन ।
केही दिनयता ओम श्री दक्षिणामकाली क्रसर उद्योगले दिनदहाडै नदीमा डोजर र एक्साभेटर प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा निकालिरहेको छ । पोखरा–बाग्लुङ्ग राजमार्गको सहश्रधारा र मालढुंगा–बेनी सडक खण्डको लस्तीबाट प्रष्ट देखिने गरि धमाधम ठूला–ठूला स्काभेटरले नदीको बीच भागमा बालुवा उत्खनन् गरिरहेका छन् । विश्वमै शालिग्राम शिला पाईने एकमात्र कालीगण्डकी नदीमा क्रसर उद्योगले अबैध नदीको दोहनलाई पुनः तिव्रता दिएका हुन ।
केही वर्षअघि सञ्चारकर्मीको निगरानीले रोकिएको दोहन पुनः सुरु भएको हो । पछिल्लो समय स्थानीय प्रहरी प्रशासन मौन बसेपछि व्यावसायीको मनोमानी बढेको हो ।

जिल्ला समन्वय समितिकोे मिलेमतोमा निर्माण सामाग्री अभाव भएको बाहना बनाएर नदीमा डोजर र एक्साभेटर हालिएको स्रोतले जनाएको छ ।
समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलका अनुसार ठूला साधन प्रयोग नगर्ने गरी ईजाजत दिएपनि व्यावसायीले मनोमानी गरेको बताए । जलजला–८ नाग्लीवाङको लस्तीस्थित कालीगण्डकी नदी पारी म्याग्दीमा पर्ने सारेमारे बगर भएपनि पर्वत खण्डमा रहेको कालीगण्डकीको बीचको भागलाई नै म्याग्दी भनेर समन्वय समितिले मिलेमतो गरेको स्रोतले बतायो । सहश्रधाराको पर्वत खण्डमा रहेको बगरलाई बाग्लुङ्ग भएको बताउँदै अर्को जिल्लाको घाटबाट सामान ल्याउन दिएको बताएको छ ।
तर समन्वय समितिले कर उठाउन भने यी दुबै बगरलाई पर्वतै भएको उल्लेख गरेको छ । यता क्रसर ब्यवसायीले भने सामान सहज रुपमा मागअनुसार पु¥याउन नसकेको दाबी गरेका छन् । ओम श्री दक्षिणामकाली क्रसर उद्योगका सञ्चालक विप्लप हमालले निर्माण सामाग्रीको अभावले मागअनुसार दिन नसकेको बताए ।
केहीदिनअघि क्रसर ब्यवसायीले निर्माण सामाग्री अभाव भएको भन्दै जिल्ला समन्वय समितिमा ब्यापक दबाब बढाएका थिए । राष्ट्रिय गौरबका आयोजना र जलबिद्युत आयोजनाबाटै दबाब सिर्जना गराएर नदीमा एक्साभेटर र डोजर लगाउन दिने अनुमति मिलाउन खोजेका थिए ।
समन्वय समितिमा ब्यापक दबाबपछि जिल्ला प्राविधिक कार्यालयका इन्जिनियरको नेतृत्वमा एक प्राविधिक समिति गठन गरिएको थियो । प्राविधिक समितिले मंगलबारदेखि स्थलगत रुपमा अध्ययन थालेको छ । तर, अध्ययन गरेझै गरेर क्रसर ब्यवसायीलाई अबैध धन्दा चलाउन अबैध गराउने चलखेल भएको समन्वय समितिस्रोतले जनाएको छ । ‘प्राविधिक समिति बनाएर प्रतिवेदन बनाउने नाटक रचिएको हो’ समन्वय समितिस्रोतले भन्यो ।

spot_img

भर्खरै