पर्वत, पुस २७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले गैरसरकारी संस्था पूर्ण सामाजिक हुनुपर्ने बताएका छन् । उनले अधिकांश गैरसरकारी संस्थाहरु स्वार्थ केन्द्रीत भएको भन्दै सुध्रार हुनुपर्ने बताए । खुर्कोट युवा क्लबको १० औ अधिवेशनको उद्घाटनमा बोल्दै जोशीले गैरसरकारी संस्थाको स्वार्थ भनेकै राज्यले सेवा दिन नसकेको ठाउँमा गएर सेवा दिने भएको बताए ।
‘जहाँ राज्य पुग्न नसकेको ठाउँ छ, त्यहाँ गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुन्छ’ उनले भने–‘सामाजिक परिवर्तनका लागि गैससले राम्रो भुमिका खेलेपनि पछिल्ला समय धेरै गैसस स्वार्थ केन्द्रीत भएका छन ।’ उनले खुर्कोट युवा क्लबले दुई दशकदेखि सामाजिक परिवर्तनका साथै पूर्वाधार निर्माणमा खेलेको भुमिकाको प्रशंसा गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले पर्वत जिल्ला मानव सुचांकको हिसाबले ११ औ नम्बरमा दर्ज भएका कारण दातृ निकाय टाढिदै जादा गैससको दिगोपनका लागि नयाँ सोच बनाउनुपर्ने बताए ।
खुर्कोट युवा क्लबका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष शिवप्रसाद शर्मा र लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, क्लबका पूर्वअध्यक्ष गुप्तनिधि शर्मा, कमलराज पौडेल, नेपाल शिक्षक संघ पर्वतका उपाध्यक्ष राधाकुमारी शर्मा, कालिका माविका प्रधानाध्यापक बाबुराम शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव सचिनाकुमारी शर्माले गरेकी थिइन् ।