spot_img

युवतीमाथि जबरजस्ती गर्ने युवालाई कडा कारबाहीको माग

पर्वत, पुस ८–एक शारिरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती शारिरिक सम्बन्ध राखेको आरोपमा यहाँका एक युवा दुई महिनादेखि हिरासतमा छन् । प्रहरी नियन्त्रणमा रहेका जलजला गाउँपालिका वडा नम्बर २ का २२ बर्षिय दिनेश नेपालीलाई प्रमाण नपुगेको बहानामा छाड्ने षडयन्त्र भएको भन्दै युवतीका आफन्तले दबाब दिएका छन् ।
कार्तिक ६ गते बिहान घरमा कोही नभएको मौका छोपेर पिउनेपानी माग्ने बहानामा जबरजस्ती गरेका दिनेशलाई कडा कारबाही गर्नुपर्ने माग राखेर मल्लाजबासीले सदरमुकाममा दबाब दिन आएका हुन । युवतीलाई वाकवाकी हुने लगायतका समस्या देखिएपछि खोजतलास गर्दा दिनेशले जबरजस्ती गरेको गाउँलेले पत्ता लगाएका थिए ।
स्थानीय माओबादी नेता रामबहादुर नेपालीसहितले गाउँमै मिलाउन दबाब दिएपनि युवतीका परिवारले वडा कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीपछि दिनेशलाई प्रहरीले कार्तिक १४ गते समातेको थियो । नेकपा एमाले र नेकपा माओबादी केन्द्रका नेताले गएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बामगठबन्धनले जितेमा आफुहरुले दिनेशलाई कारबाही नगरी निर्दोश बनाएर निकालिदिने भन्दै मत मागेको युवतीका आफन्तले बताएका छन् ।
बामगठबन्धनले जितेपछि युवतीमाथि जबरजस्ती गर्ने दिनेश उम्कने हो की भन्दै गाउँलेहरु प्रहरीप्रशासनलाई दबाब दिन सदरमुकाम आएका छन् । राम्रोसँग बोल्नसमेत नसक्ने युवतीलाई घरमै आएर जबरजस्ती गर्नेलाई कडा कारबाही गर्नुपर्ने युवतीकी एक आफन्त महिलाले बताइन । ‘चुनावमा जसरी पनि हामी निकाल्छौ, हामीलाई जिताउनुस् भनेर भोट मागेका थिए, कतै निकाल्ने त होइनन् भनेर दबाब दिन आएका हौ’ ती महिलाले भनिन् ।
पीडित युवतीका दाजुले विभिन्न दबाब आएपनि न्याय खोज्दै प्रहरीसम्म पुगेको बताए । ‘विभिन्न लोभलालच देखाइए तर यस्तो जघन्य अपराध ढाक्नुहुदैन भनेर न्याय खोज्दै अगाडी बढेका हौ’ उनले भने । उता जिल्ला प्रहरी कार्यालय पर्वतले भने आरोपितलाई पक्राउ गरी अनुसन्धान जारी रहेको बताएको छ । ‘आइतबारसम्म पर्वत जिल्ला अदालतमा म्याद थप गरेका छौ’ जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले भने–‘अव अदालतमा पुगिसकेकाले दोषीले कारबाही भोग्नुपर्छ ।’
कार्तिक ६ गते बिहान युवतीका आमा बेनीबजार गएकी थिइन् । बाबु घाँस काट्न गएका थिए । युवतीलाई खाना बनाउन परिवारले अह्राएका थिए । तर, दिनेशले परिवारका सदस्यलाई युवतीसँग सोधेपछि घरमा नभएको बताएपछि खानेपानी मागेको र पानी गाग्रीबाट सार्नेक्रममा उसले ढोका बन्द गरेर जबरजस्ती गरेको बहिनीले बताएको युवतीका दाजुले बताए ।
‘केही दिन बहिनी बोल्दापनि बोलिन, सुतेको सुत्याई गरी, के बिरामी भई भनेर खोज्दा यस्तो पत्ता लाग्यो’ युवतीका दाजुले बताए । शारिरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती गर्ने युवक छुटेमा गाउँका अन्य महिला समेत असुरक्षित रहेको भन्दै गाउँका महिलाहरुले कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

spot_img

भर्खरै