जाजरकोट, कार्तिक २७–जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर ज्यान बचाइदिएका छन् । कुशेगाउपालिका ८, रिजापहाडाकी ३० वर्षीया रोकालाई शाहले हेलिकप्टर मगाएर नेपालगञ्ज उपचारका लागि पठाएका हुन् । शाहका कारण सुत्केरी रोकाको ज्यान बचेको छ । रोकालाई १८ घण्टासम्मको लगातार रक्तश्राव भएको थियो ।
सुत्केरी रोका ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित रुपमा बच्चा जन्माएकी थिइन् । कांग्रेसका उम्मेदवार शाह रोकाका लागि भगवान बनेको आफन्तले बताएका छन् । कांग्रेसका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचादे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरी रोकाको उच्च रक्तश्रावबाट ज्यान जान लागेको खबर गरिएको थियो । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने बस्नेतले बताए ।
जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरूको टोली ल्याएर कांग्रेसका नेता शाह आफै गाउँ–गाउँमा पुगेर सर्वसाधारणको उपचार गरेका थिए । शाहले २०७१ मंसिर र २०७३ फागुनमा भएको बस दुर्घटनामा घाइते भएकाहरूलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गराएका थिए ।
गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा बेला–बेलामा जाजरकोटी जनताले धेरै दुःख पाएको भन्दै सांसद शाहले व्यक्तिगत ५ करोड रुपियाँको लगानीमा कुमारी ट्रस्टमार्फत २५ शैयाको अस्पताल निर्माण सुरु गरेका छन् । छेडागाड नगरपालिका ५ थलबजारमा निर्माण हुन लागको अस्पतालबाट जाजरकोटी जनताले सेवा लिन सहजा हुने शाहको विश्वास छ । यो अस्पताल निर्माण भएमा जटिल प्रकारका अप्रेशनदेखि सामान्य रोगको उपचार सेवा पाउने विश्वास छ ।
यसैबीच, नेपाली कांग्रेस जाजरकोटबाट प्रतिनिधी सभाको उम्मेदवार बनेका शाहले सुत्केरीको ज्यान बचाएपछि एमाले र माओवादी केन्द्रले त्यसलाई राजनीतिकरण गर्ने प्रयास गरेका छन् । उनीहरूले निर्वाचनमा हेलिकप्टर ल्याएर सुत्केरीको ज्यान बचाएर मतदातालाई प्रभावित बनाएको भन्दै आक्रोश जनाएका हुन् । रिपब्लिका दैनिक डटकमबाट