spot_img

गाईथुने घाटमा पक्की पुल बनाउन माग

पर्वत, भदौ २६–जैमिनी नगरपालिका र बिहादी गाउँपालिका जोड्ने गाईथुने घाटमा कालीगण्डकी नदी पक्की पुल बनाउन स्थानियले माग गरेका छन् । कालीगण्डकी करिडोर र कालीगण्डकी राजमार्ग जोडिने र यसले त्यसक्षेत्रका धेरै जनता लाभान्वित हुने भन्दै बिहादीको बाच्छाका बासिन्दाले यस्तो माग गरेका छन् ।
बाच्छाका स्थानीयले गाउँमा आमभेला राखेर पुल निर्माणका लागि जनप्रतिनिधिदेखि राजनीतिक दलका नेतालाई बुझाएका हुन । चुनाव अगावै जसले पुल निर्माणमा सहयोग गर्छ उसैको पक्षमा मत जाने भन्दै स्थानीयले जनताको अत्यावश्यक कामको छिटो सम्बोधन हुनुपर्ने बताए ।
‘आमभेलाको निर्णय सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र सांसदसमक्ष पु¥याएका छौ’ बाच्छाका सेवकनाथ आचार्यले भने । उनले राजनीतिक तहकै पहलमा पक्की पुलको योजना पर्न सम्भव रहेको भन्दै जसले सहयोग गर्छ उसैको पक्षमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत जाने बताए ।
यो पुल निर्माणपछि विशेषगरी बागलुङको दक्षिण भेगका बासिन्दालाई पोखरा, काठमाडौ, बुटवल जाने बाटो छोटिनेछ । पुल बनेपछि बिहादी गाउँपालिकाको बाच्छा क्षेत्रमा चहलपहल बढ्ने आचार्यले बताए । ‘बागलुङको जैमिनी नगरपालिकास्थित छिस्ती र बिहादी गाउँपालिकाको बाच्छामा पक्की पुल तत्काल आवश्यक देखिएको छ’ उनले भने–‘पुलले कालीगण्डकी करिडोर र राजमार्गलाई समेत जोड्नेछ ।’
बाच्छाका स्थानिय भीमबहादुर खड्काले पक्की पुल निर्माणका लागि सांसद अर्जुनप्रसाद जोशी र सडक डिभिजन कार्यालयमा निर्णयसहित माग गरिएको जानकारी दिए । ‘सांसद जोशीले पहल गर्ने बताउनुभएको छ’ उनले भने–‘गाईथुने घाटमा पक्की पुल हाम्रा लागि महत्वपूर्ण छ ।’
खड्काले कालीगण्डकी वारी र पारी पारिवारिक सम्बन्धदेखि धेरै काम हुनेभएकोले पक्की पुल नहुदा गाडीमा १० मिनेटमा पुगिने ठाउँमा घुमेर घण्टो लगाउनुपर्ने बताए । यो पुलले बिरामी भएका ब्यक्तिलाई तत्काल अस्पताल पु¥याउन समेत सहज गर्ने बाच्छाका शिक्षक राजेन्द्र आचार्यले जानकारी दिए ।

spot_img

भर्खरै