spot_img

बाकसबाट बाहिरन्छ नोट

काठमाडौं, भदौ २४–नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भएर सिंगापुर जान्छ। गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंककको अभिलेखले देखाउँछ। आर्थिक वर्ष ०७३/७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ। ‘नेपाली बजारमा खपत नहुने विदेशी नोटलाई साताको दुईपटक कार्गो गरेर सिंगापुर पठाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए। यो खबर श्रीधर खनाल/मेनुका कार्कीले आजको अन्नपूर्णमा लेखेका छन्।

उनले भने, ‘एक पटका बढीमा ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा विदेशी बैंकमा निक्षेप गर्न पठाउँदै आएका छौं।’ बैंकले विदेशमा सञ्चित गर्ने गरेको मुद्रा जुनसुकै मुलुकको भए पनि अमेरिकी डलरमा मूल्यांकन भएर सिंगापुरका दुई बैंकमा जम्मा गरिन्छ। नेपालबाट पठाइएको नोट प्रायःजसो सिंगापुरको सीआईएमबी बैंक र यूओबी बैंकमा जम्मा गर्ने गरिएको छ। राष्ट्र बैंकले विभिन्न मुलुकमा २२ बैंक खाता सञ्चालनमा राखेको छ।

अहिलेसम्म नेपालमा २१ देशको मुद्रा भित्रिँदै आएको छ। डलर, युरो, पाउन्डजस्ता अन्तर्राष्ट्रिय बजारमा प्रचलनमा रहेका नोट नेपालमै रहे पनि अरू देशका नोट भने राष्ट्र बैंकले सीआईएमबी र यूओबी पठाउँदै आएको छ। यी बैंकले नेपालबाट गएका विभिन्न देशका नोटलाई डलरमा रुपान्तरण गरेर राष्ट्र बैंकको खातामा जम्मा गर्दै आएका छन्।

राष्ट्र बैंकले सिंगापुर पठाएको नोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर जाने गरेको छ। भन्सार भएर जाने भएकाले विदेश जम्मा गर्न पठाएको नोटको विवरण भन्सार विभागले निर्यातमा राख्दै आएको छ। भन्सार विभागको पछिल्लो विवरणअनुसार गत आवमा एक अर्ब ७१ करोड रुपैयाँ बराबरको एक करोड ६७ लाख थाननोट सिंगापुर गएको देखिन्छ।

४९०७००१० हार्मोनिक कोडबाट बाहिरिएको यस्तो पैसाका कारण निर्यात व्यापारको आयातनसमेत ठूलो भएको देखिन्छ। गत आर्थिक वर्षमा ७० अर्ब २५ करोड मूल्य बराबरको निर्यात भएको छ। कुल निर्यातमा दुई दशमलव ४३ प्रतिशत हिस्सा नोटले लिएको भन्सार विभागको अभिलेखले देखाएको छ। राष्ट्र बैंक र विभागको नोट निकासीसम्बन्धी अभिलेख फरक-फरक देखिने गरेको छ। भन्सार विभागका निर्देशक कुलराज ज्ञवालीले राष्ट्र बैंकबाहेक अरूलाई पैसा लाने अनुमति नभएको बताउँछन्।

उनले भने, ‘अरूले चाहेर पनि नेपालबाट बाहिर पैसा लैजान सक्दैन। भन्सारको अभिलेख उहाँहरूले दिएको विवरणका आधारमा तयार हुने हो।’ राष्ट्र बैंकले पठाउने नोटको कार्गोको सुरक्षा व्यवस्था भने नेपाली सेनाले गर्दै आएको छ। कार्गोसँगै सेना र बैंकका अधिकारीसमेत सिंगापुर जाने गरेका छन्। गत आर्थिक वर्षमा नेपालबाट ठूलो परिमाणमा पैसा विदेश नपठाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।

उनले भने, ‘नेपालमै डलरको प्रवाह कम छ। डलर बढी हुँदा हामीले विदेशी बैंकमा डलर पठाउँछौं। डलरको प्रवाह कम भएको अवस्थामा नेपालमा आएका अन्य मुलुकको पैसा मात्र पठाउने हो।’ राष्ट्र बैंकले डलरको अभाव भएपछि गत असोजमा एक करोड मूल्य बराबरको डलर खरिद गरेको थियो। डलर अभावमा पहिलो पटक यसरी बैंकले डलर किनेर ल्याएको हो। नेपालबाट हरेक वर्ष सानो परिमाणमा भने नेपाली मुद्रा संकलनका लागि विदेश जाने गरेको छ। टिकट र मुद्रा संकलकले नेपाली पैसा लैजाने गरेका छन्।

spot_img

भर्खरै