पर्वत, भदौ १८–जलजला गाउँपालिकास्थित गाउँ बन समन्वय समिति लेखफाँटको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले सामुदायिक बन संरक्षण गरी जडीबुटी, अल्लो, बनजन्य कच्चापदार्थ उत्पादन बढाउन जलजला गाउँपालिकाले ध्यान दिने बताए । गाउँपालिकास्तरीय बन समन्वय समिति गठन गरी गाउँपालिकाले बनजङ्गलको संरक्षण तथा बिस्तार, जडीबुटी संरक्षण तथा निकासी गर्ने र विभिन्न सामान उत्पादन हुने बनजन्य कच्चापदार्थको उत्पादन बढाएर रोजगारी सिर्जना गराउनेतर्फ लाग्नुपर्ने भन्दै मल्लले सामुदायिक बनको विकासका लागि आवश्यक सहयोग गर्ने बताए ।
जलजला गाउँपालिकाका सामुदायिक बनमा कपडा बनाउने अल्लो, सुगन्धित तेल उत्पादन गर्ने चर्चरे, सत्तुवालगायतका विभिन्न जडीबुटीको पकेट क्षेत्र पनि हो । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले जलजला गाउँपालिकाका सामुदायिक बन जडीबुटी लगायतको हिसाबले महत्वपूर्ण भएकोले संरक्षण, बिस्तारमा ध्यान दिन लागिएको जानकारी दिए ।
सामुदायिक बनको बनजन्यबस्तुले स्थानिय महिलालाई आत्मनिर्भर गराएकोले यी बनको संरक्षण र विस्तार गर्नु अनिवार्य भएको गाउँपालिका अध्यक्ष मल्लले बताए । मल्लले लेखफाँट गाउँ बा समन्वय समितिलाई गाउँपालिकास्तरीय बनाएर काम गर्न तत्कालका लागि दुई लाख रुपैया प्रदान गर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष सीमा पुन, वडा अध्यक्ष भिष्म मल्ल, देबेन्द्रबहादुर भण्डारी, गोबिन्द खत्री, गौबहादुर पुन, टुंगनाथ आचार्य, तिलक जिसीले सामुदायिक बनको संरक्षण र त्यसबाट गाउँपालिकाले उत्पादन, रोजगारी र आम्दानी लिन सक्नुपर्ने बताए ।
१४ वटा सामुदायिक बन उपभोक्ता समुह रहेको समन्वय समितिको अध्यक्षमा लालबहादुर पौडेल चयन भएका छन् । बरिष्ठ उपाध्यक्षमा टिकानाथ सुवेदी, उपाध्यक्षमा फुलकुमारी सुवेदी, महासचिवमा यामप्रसाद शर्मा, सचिवमा भगवान आचार्य, गोबिन्द पौडेल, कोषाध्यक्षमा चक्रबहादुर केसी चयन भएका छन् ।