spot_img

एमालेले बन्धक बनायो कुश्मा नगरपालिका, जनप्रतिनिधिबिच भएको सहमति अध्यक्ष गिरीले भाँडे

पर्वत, भदौ १७–कुश्मा नगरपालिकाका निर्वाचित प्रतिनिधिलाई एमालेले हस्तक्षेप गर्दा नगरसभा हुन नसकेको नेपाली काँग्रेस पर्वतले आरोप लगाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर काँग्रेसले नगरपालिकालाई एमालेले पार्टी कार्यालयबाट चलाउन खोजेको आरोप लगाएको हो ।
स्थानिय तह सञ्चालनका लागि मन्त्रालयले पठाएको नमुना कार्यबिधि सबै तहमा कार्यान्वयन हुदा कुश्मा नगरपालिकामा हुन नसक्नु दुःखद भएको काँग्रेसको धारणा छ । ‘पर्वतका सबै तहमा मन्त्रालयकै कार्यविधि हुबहु लागु भएको छ, कुश्मा नगरपालिकामा लागु गर्न नदिनु दुःखद हो’ काँग्रेस सभापति खिमप्रसाद भुसालले भने–‘हाम्रो सदस्यमा बहुमत भएको स्थानमा एमालेका प्रमुखलाई सबै अधिकार दिएका छौ, कुश्मामा किन नपाउने ?’
उनले एमालेले कार्यबिधि पारित गर्नबाट रोकेर नगरबासीको भावनालाई कुठाराघात नगरपालिकालाई बन्धक बनाउन खोजेको बताए । कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुख काँग्रेसले जितेपनि कार्यपालिकामा एमालेको बहुमत छ ।
एमालेले मन्त्रालयले पठाएको कार्यविधिको १५ नम्बर बुदाको १, २ र ३ मध्ये ३ नम्बरलाई फालेर कार्यविधि पारित गर्नुपर्ने अडानमा छ । तर, नगर प्रमुख रामचन्द्र जोशीले ३ नम्बर हटाएर प्रमुखको हातखुट्टा बाध्ने प्रयास भएको बताउदै आएका छन् । उक्त बुदामा सहमति र बहुमतमा कुरा नमिलेपनि प्रमुखलाई सबै अधिकार रहने उल्लेख छ ।
बिहिबार एमालेबाट निर्वाचित वडा अध्यक्ष सुबास पौडेल र शिव पौडेलले प्रमुख जोशीसंगको छलफलमा प्रमुखलाई अधिकार दिने तर बहुमतलाई ध्यान दिने, छ वटा बिषयगत समितिमा काँग्रेसले दुई र एमालेलाई चार वटा दिने गरी हस्ताक्षर गरेका थिए । त्यसको केही घण्टामै एमाले पर्वतका अध्यक्ष पदम गिरीले सहमति भाँडेका हुन ।
काँग्रेसले स्वतन्त्र जनप्रतिनिधिले गरेको निर्णयलाई एमालेका अध्यक्ष गिरीले भाँडेको आरोप लगाएको हो । काँग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले अब एमालेको अबरोध बिरुद्ध नगरबासीको माझमा जानुको विकल्प नभएको बताए । ‘जनताबाट प्रत्यक्ष निर्वाचित भएर आएका नगर प्रमुखलाई काम गर्न नदिनु भनेको एमाले नेतृत्वको रवैया आफैमा गैरराजनीतिक र अलोकतान्त्रिक भएको पुष्टि हुन्छ’ श्रेष्ठले भने ।

spot_img

भर्खरै