spot_img

वडाअध्यक्षले तार थुतेको भन्दै बिरोध

पर्वत, भदौ १२–वडा अध्यक्षले पूर्वाग्रह राखेर बिद्युतको तार थुतेको भन्दै यहाँका स्थानीयले बिरोध गरेका छन् । जलजला गाउँपालिका वडा नम्बर १ बासखर्कको बजारमारेका स्थानीले तार पहिलेकै अवस्थामा टाँगिदिन माग गरेका छन् । वडा अध्यक्ष तुलसीराम रेग्मीको निर्देशनमा चार लाइनको तार हटाएर दुई लाइन कायम गरिएको भन्दै स्थानीयले बिरोध गरेका हुन ।
स्थानीय नरबहादुर खत्रीले चार लाइनको तार हटाएर दुई लाइन बनाएर वडा अध्यक्ष रेग्मीले पूर्वाग्रह साधेको गुनासो गरे । सामुदायिक बिद्युतीकरणमार्फत बिद्युतिकरण भएको बाँसखर्कमा यसअघि बजारमारेदेखि रोहोटेसम्म चारलाइनकै तार टाँगिएको थियो । मध्यरातमा आएर वडा अध्यक्षको निर्देशनमा तार झिकिएको खत्रीले बताए । ‘अन्यत्र तार चाहिए वडा र गाउँपालिकाकै बजेट बिनियोजन गरेर खरिद गर्न सकिन्थ्यो तर टाँगिसकिएको तार निकालेर लैजानु जनतामाथि अन्याय हो’ उनले भने ।
चार लाइनको तार हटाएपछि गाउँमा स–साना उद्योग, मिल सञ्चालन गर्न नपाइने भएको उनले बताए । ‘घरमा आएको बिजुली बाल्नुबाहेक नहुने भयो, मिल र अन्य उद्योग चलाउन चार लाइनको तार चाहिन्छ’ उनले भने । सुन्तलै सुन्तला उत्पादन हुने यो गाउँमा कतिपय घरपरिवारले सुन्तलाको जुस बनाउने मेसिन पनि राखेका छन् । त्यो कामका लागि समेत सुन्तला किसान प्रभावित हुने खत्रीले जानकारी दिए ।
साउन २१ गते सुटुक्क आएर तार थुतेर लगेको उनले बताए । ‘थाहा पाएको भए रोक्ने थियौ, पत्तै भएन, पछि मात्रै देख्यौ’ उनले भने–‘वडा अध्यक्षले राम्रो काम गर्लान भनेको त उल्टै दुःख पो दिए ।’
उता वडा अध्यक्ष तुलसीराम रेग्मीले भने चार लाइनको तारले दुर्घटनाको जोखिम बढेका कारण निकालेको दाबी गरे । ‘पूर्वाग्रह केही राखेको होइन, चार लाइनको तारमा बढी बिद्युत प्रवाह भएका कारण दुर्घटना नहोस् भनेर नै दुई लाइनमात्रै राखिएको हो’ वडा अध्यक्ष रेग्मीले भने । वडा अध्यक्षको जवाफप्रति स्थानीय भने सहमत छैनन् । ‘अहिलेसम्म त्यस्तो केही दुर्घटना भएको छैन र त्यस्तो संकेत पनि पाइएको छैन’ खत्रीले भने ।

spot_img

भर्खरै