पर्वत, साउन १७–मल्लाज सिंचाई आयोजनाको नहर पहिरोले पुरेको छ । जलजला गाउँपालिका–१, २, ३ र ४ वडाको अधिकांश जमिन सिंचित हुने नहरको एक सय ४७ मिटर पुरेको छ । नहर पुरेपछि त्यसक्षेत्रका किसान चिन्तित भएका छन् ।
‘निरन्तर बर्षापछि एक सय ५० मिटर माथिबाट आएको पहिरोले नहरमा ठुला–ठुला ढुंगा ल्याएर राखेको छ’ उपभोक्ता समितिका सचिव थलबहादुर जिसीले भने–‘पन्छाउनका लागि ४०–५० जना उपभोक्ता गएपनि सम्भव नै भएन ।’ उनले माथिबाट पहाड नै खसेर मान्छेले फोर्नै नसक्ने ढुंगा नहरमा खसेको बताए । ‘नहर चलाउन सकिन्छ की भनेर सोमबार ४०–५० जना उपभोक्त मिलेर गएका थियौ तर सम्भव नै भएन’ जिसीले भने ।
यो आयोजनाको शाखा नहर निर्माण पुरा नभएपनि मुल नहर निर्माण पुरा हुने अवस्थामा थियो । नहर नै पहिरोले पुरेपछि जेठको तेस्रो सातादेखि धान रोपेका किसान चिन्तित भएका छन् । ‘जेठ अन्तिमसातादेखि अहिलेसम्म किसानले धान रोप्नमै ब्यस्त भए तर अहिले नहर नै पुरेपछि चिन्तित बनाएको छ’ उपभोक्ता रामबहादुर भण्डारीले भने ।
उनले उपभोक्ताले नहर खुलाउन नसक्ने भएका कारण सिंचाई विकास सव डिभिजन पर्वत, सिंचाई विभाग, सिंचाई मन्त्रालय र जलजला गाउँपालिकाले गम्भिर रुपमा ध्यान जानुपर्ने बताए । उपभोक्ता समितिका सचिव थलबहादुर जिसीले सिंचाई विकास सव डिभिजन पर्वतका प्रमुख राजेन्द्र श्रेष्ठलाई जानकारी गराएको बताए । ‘हामीले नहरको अवस्था बताएका छौ, अव उहाँ(राजेन्द्र श्रेष्ठ)ले गम्भिर रुपमा लिएर तत्काल नहर खुलाउने ब्यवस्था मिलाइदिनुपर्छ’ उनले भने ।
पहिरोले जलजला–२ सिस्नेराका पाँच वटा घर जोखिममा परेका छन् । माथिबाट आएको पहिरोले नहर पुरेको र नहरको पानी पुरिएर अर्को पहिरो बस्ती नजिक पुगेको जलजला–१ बाँसखर्कका टेकबहादुर पाइजाले बताए । यो नहरबाट अब बाँसखर्कमा ५० रोपनी र मल्लाजक्षेत्रमा एक सयबढी रोपनी खेतमा धान रोप्नै बाँकी रहेको छ । ‘अझै एक सातामा सबै जमिनमा धान रोप्ने काम सम्पन्न हुने थियो’ पाइजाले भने ।
सिंचाई विकास सव डिभिजन पर्वतका प्रमुख राजेन्द्र श्रेष्ठले नहर तत्काल सञ्चालनमा नआए चार सय हेक्टरबढी जमिनमा लगाएको धानखेती सखाप हुने बताए । ‘यति ठुलो पहिरो आउला भन्ने सोचेकै थिएनौ’ उनले भने–‘उपभोक्ताको समस्यालाई विभाग र मन्त्रालयसम्म पु¥याउँछु ।’
मल्लाज सिंचाई नहर पहिरोले पुर्दा चारसयबढी हेक्टर जमिन सुक्खा बन्दै
