काठमाडौं, साउन १७ -देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । आजको नयाँ पत्रिकामा खबर छ । गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३-७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो । आव ०७२-७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।
हत्या र बलात्कारका घटना बढे
गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ । त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन् । अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो । त्यस्तै, बलात्कारका घटना पनि बढेका छन् । यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ । त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन् ।
‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न मिल्दैन’
प्रहरी प्रवक्ता एसएसपी पुष्कर कार्की भने अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न नमिल्ने बताउँछन् । ‘अपराधबारे प्रहरीमा रिपोर्टिङ गर्ने क्रममा वृद्धि भएकाले संख्या बढेको हुन सक्छ,’ कार्की भन्छन्, ‘शान्ति सुरक्षा भनेको तथ्यांकभन्दा पनि अनुभूत गर्ने कुरा हो ।’ तर, आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको उनले बताए । ‘गृहमन्त्रीज्यूकै निर्देशअनुसार अब परफर्मेन्स कन्ट्राक्स गरेर प्रहरीलाई सरुवा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘शान्ति सुरक्षालाई अझ बलियो बनाउन गृहमन्त्री र प्रमुखज्यूबाट पहल भइरहेको छ ।’
एक प्रहरी अधिकारीले भने गत आर्थिक वर्ष प्रहरीमा भएको राजनीतिक हस्तक्षेप र गुटबन्दी पनि अपराध बढ्नुको एक कारण भएको बताउँछन् । ‘खराब आचरण र कार्यक्षमतामा कमजोरहरूले महत्वपूर्ण कार्यालयको जिम्मेवारी पाए,’ ती प्रहरी अधिकारी भन्छन्, ‘संगठन नै कमजोर बनेपछि शान्ति सुरक्षामा त्यसको असर देखिएको हो ।’