spot_img

०४६ को परिवर्तनपछि पर्वतले एउटा मन्त्री पाउन सकेन

पर्वत, साउन ११–२०४६ सालको परिवर्तन यता मुलुकका दर्जनौ सरकार बने । नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी, राप्रपालगायत दलले सरकार बनाए । यो अवधिमा पर्वतले एउटा पनि मन्त्री पाउन सकेन । राजनीतिमा निरन्तर चुनाव जितेका नेता समेत मन्त्री हुनबाट बञ्चित भएका छन् । यसपटक काँग्रेस नेता अर्जुनप्रसाद जोशी मन्त्री बन्ने चर्चा थियो । मंगलबारसम्म प्रधानमन्त्री देउवाले बचन दिएपनि बुधबार उनको नाम काटिएको हो ।
काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको बर्तमान सरकारमा मन्त्री बन्ने चर्चा चलेका जोशीको नाम अन्तिममा काटिएको हो । देउवाले मन्त्री बनाउने बचत दिएपनि उनले आफ्नो पक्षमा आकांक्षी बढेको भन्दै जोशीको नाम काटेर महेन्द्र यादवलाई मन्त्री नियुक्त गरेका हुन । तीन पटक प्रत्यक्ष निर्वाचनमा बिजयी भएपनि नेतृत्वले मन्त्री नबनाएको भन्दै जिल्लास्थित नेता कार्यकर्ताले आक्रोश पोखेका छन् ।
‘तीन पटक निर्वाचन जितेको ब्यक्तिलाई छाडेर समानुपातिकलाई मन्त्रीमा समेट्नु दुखद हो’ नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले भने–‘पर्वतलाई सधैँ हेप्ने प्रबृत्ति नेतृत्वमा हाबी भयो ।’ १६ बर्ष काँग्रेस पर्वतको सभापति भएका जोशी यसपटक मन्त्री हुनेमा ढुक्क थिए ।
तीन कार्यकाल पार्टीको केन्द्रीय सदस्य भएका जोशी २०५६ सालको प्रतिनिधि सभा, २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वत–१ बाट बिजयी भएका हुन । २०६४ को संविधानसभा निर्वाचनमा धेरै जिल्लामा काँग्रेस एमालेका प्रभावशाली र शिर्ष नेताहरु पराजित हुदा समेत जोशीले पर्वत–१ मा बिजयी भएका थिए । ‘जनताबाट अनुमोदित ब्यक्तिलाई छाडेर समानुपातिक पद हडपेर बसेका ब्यक्तिलाई पटक–पटक मन्त्री दिएर जनताको मतको कदर गर्नबाट काँग्रेस नेतृत्व चुकेको छ’ मन्त्री परिषद बिस्तारपछि भुसालले भने ।
पटक–पटक सरकार बनेपनि पर्वतबाट ०४६ सालयता एउटा पनि मन्त्री बनेका छैनन् । दोस्रो पटक शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा पर्वत–२ का तत्कालिन सांसद डिल्लीराज शर्मा सहायक मन्त्री भएका थिए । अन्य कोही पनि पूर्णमन्त्री अहिलेसम्म भएका छैनन् । यसपटकको देउवा नेतृत्वको सरकारमा धौलागिरीबाट एक जनापनि परेका छैनन् ।

spot_img

भर्खरै