पर्वत, साउन ९–मुलुककै आकर्षक गुफा, विश्वकै ठुलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुल लगायतका आकर्षकस्थल रहेपनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुंङ्गे पुल बन्न थालेका छन् ।
२०४५ सालदेखि कुश्मादेखि ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिएपनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो । नेपालकै अग्लो उक्त पुलका कारण पर्यटक बढ्दै जादा अहिले त्यो भन्दा अग्ला र लामा पुल समेत थपिएको छन् । पर्वतमा कुश्मा–ज्ञादी झोलुंगे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको कुश्माबजारमा ।
त्यति मात्रै होइन पर्वत आसपासका जिल्लाका बासिन्दाले त बिदा मनाउने स्थलका रुपमा नै झोलुंगे पुललाई लिन थालेका छन् । अग्ला पुलमा दैनिक अवलोकन र घुम्न आउने भएपनि बिदाको दिन विशेष भरिभराउ हुने गरेको छ । कुश्मा–ज्ञादी पुल आठ बर्षअघि सञ्चालनमा आएपनि कुश्मा–कैया चार बर्ष र कुश्मा–मुडिकुवा पुल गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको हो । अहिले यी तिन वटै अग्ला पुलमा दैनिक पाँच हजारबढीले आवत–जावत गर्छन । बिदाको दिनमा सात हजार बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् ।
पुलको अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छ«ेसहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरु पुल अवलोकनमा आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका छन् ।
पुल सर्बसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भएपनि पुल अवलोकनका लागि पर्यटकहरु आउदा पुल वरपरको ब्यापार ब्यवसाय समेत फस्टाएको छ । अहिले तीन वटै पुल वरपर दुई दर्जनबढी होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । पुल निर्माणपछि त्यसक्षेत्रको जग्गाजमिनको मुल्य समेत बढेको छ । पर्वतको कुश्मा–ज्ञादी पुल एक सय ३५ मिटर उचाई र तीन सय ४४ मिटर लामो रहेको छ । यता कुश्मा–कैया एक सय ५५ दशमलब ७० मिटर उच्चाईमा निर्माण भएको हो ।
कुश्मा–कैया पुल भन्दा यो पुल ३० सेन्टिमिटर मात्रै होचो छ । त्यस्तै लम्बाई तीन सय ५९ मिटर रहेको छ । यो पुलले दक्षिणी भेगका फलेबास नगरपालिका, महाशिला गाउँपालिका, पैञ्यूँ गाउँपालिका, बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोड्ने काम गरेको छ । उनीहरुलाई यो पुलले आवत–जावतका लागि एक घण्टा दुरी छोटो बनाएको छ । त्यस्तै उक्त पुलबाट बागलुङको दक्षिणी भेगका बासिन्दा समेत लाभान्वित भइरहेका छन् । यता कुश्मा कैया पुलले बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँचमा सहज भएको छ ।
यी पुलहरुमा नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि पर्यटक प्रबद्र्धनजन्य संरचनाहरु निर्माण गर्न आवश्यक रहेको छ । मुडिकुवा–कुश्मा पुलले आवत–जावतका लागि विगतमा एक घण्टाबढी लाग्ने भएपनि पुलले निकै सहज भएको छ । फलेबास क्षेत्रमा उत्पादन भएको दुध, तरकारी, फलफुललाई बजारसम्म ल्याउन समेत निकै सहज बनाएको छ ।
कस्ता छन् त पर्वतमा पर्यटक तान्ने अग्ला पुल ?
कुश्मा–ज्ञादी पुल
सुरुमा मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलको रुपमा चर्चित कुश्मा–ज्ञादी झोलुङ्गे पुल २०६७ सालमा निर्माण पुरा भई सञ्चालनमा आएको हो । २०६५ बैशाख २६ गते शिलान्यास गरी दुई वर्षको अवधिमा पुल सञ्चालनमा आएको हो । यो पुलको लम्वाई तीन सय ४४ मिटर र उचाई एक सय ३५ मिटर छ । यो पुलले कुश्मा नगरपालिका, फलेबास नगरपालिकाका बासिन्दालाई आवतजावतमा सहज बनाएको छ ।
कुश्मा–कैयाँ पुल
२०७० फागुनदेखि औपचारिक सञ्चालनमा आएको कुश्मा–कैयाँ झोलुङ्गे पुलले बागलुङ नगरपालिका र कुश्मीशेरा नगरपालिकाका बासिन्दा विशेष लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको यो पुल तीन सय ४७ मिटर लामो र एक सय ५६ मिटर उचाईमा छ । एक करोड ५६ लाखमा पुल निर्माण भएको हो ।
कुश्मा–मुडिकुवा पुल
पछिल्लो पटक निर्माण भई सञ्चालनमा आएको पुल हो कुश्मा–मुडिकुवा पुल । कुश्मालाई फलेबास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोड्ने काम यो पुलले गरेको छ । मोदीखोला माथिब बनेको यो पुल तीन सय ५९ मिटर लामो छ । पुलको उचाई एक सय ५५ दशमलब ७० मिटर छ । यो पुल एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो ।
कुश्मा–बलेवा यान्त्रिक पुल
केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग बाणिज्य संघको पहलमा निजीक्षेत्रको लगानीमा निर्माण भएको यो पुलमा टिकट काटेर मात्रै आवतजावत गर्न सकिन्छ । झण्डै पाँच करोडको लगानीमा निर्माण भएको पुलमा दैनिक पाँच सयबढीले आवत–जावत तथा अवलोकन गर्ने गरेका छन् । कालीगण्डकी नदीमाथि बनेको यो पुलले एक घण्टाको दुरीलाई पाँच मिनेटमा झारेको छ । यो पुल दुई सय ६२ मिटर उचाईमा बनेको छ ।
विश्वकै दोस्रो अग्लो बञ्जी जम्प
पर्वतमा अग्ला पुल सञ्चालनमा आउदा अर्को बञ्जीजम्पको आकर्षण समेत थपिने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको यो बञ्जीजम्प बिश्वकै दोस्रो अग्लो र एशियाकै पहिलो अग्लो बञ्जीजम्प हो । ह्विसिङ सिष्टमबाट निर्माण गरिएको बञ्जीजम्प दुई सय २५ मिटर अग्लो हुनेछ । आगामी मंसिरसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको यो बञ्जीजम्प भोटेकोशीको भन्दा ६५ मिटर अग्लो हुनेछ ।
बञ्जी र स्विङका लागि बनाइने पुलमा ठूला–ठूला प्वालसहितको एडभेञ्चर्स फिल गराइनेछ । यो बञ्जीबाट खोलामा झरेपछि हिँड्दै माथि आउनुपर्दैन । यसमा रहेको ह्विङ्स सिष्टमले आफै तानेर पुलमा ल्याउनेछ । बञ्जीमा चारदेखि पाँच सेकेण्डको ‘फ्री फल’ हुने व्यवसायी युवराज जोशीले बताए । बञ्जीका लागि आउने पर्यटकलाई बस्नका लागि बलेवा क्षेत्रमा आकर्षक रिसोर्टको समेत तयारी भएको छ ।
२० रोपनी क्षेत्रफलमा ३० वटा सुविधासम्पन्न कोठासहितको रिसोर्ट बनाउने काम पनि दु्रतरुपमा भइरहेको छ । बञ्जीसहित रिसोर्ट, स्विङ र पुल निर्माणका लागि ११ करोड लगानी हुने लगानीकर्ता राजु कार्कीले जानकारी दिए । अहिले कार्की, जोशी र नेत्र पराजुलीले लगानी गरेका छन् ।