पर्वत, असार १८–महाशिला–१ होश्राङ्दीमा गएराती गएको पहिरोले दुई घर बगाएको छ । पहिरोले राती सुतिरहेका ६३ बर्षिय तिर्थ मल्ल ठकुरीसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुने अन्य दुई जनामा ठकुरीको पत्नी ५५ बर्षिय यमकुमारी मल्ल र आमा ८० बर्षिय बेलकुमारी मल्ल रहेको महाशिला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इश्वरी भुसालले जानकारी दिए ।
उनले पहिरोले बगाएको ठकुरीको घरमा बास बस्नका लागि अन्य पाहुना पनि आएको बताए । ‘घरमा पाहुना पनि आएको जानकारी पाएका छौ तर को र कति जना भन्ने खोजतलास गरिरहेका छौ’ उनले भने ।
पहिरोले ठकुरीको घरसँगै जोडिएको डिमबहादुर मल्लको घरको आधा भाग बगाएको छ । उक्त पहिरोले दुई वटा गोठसमेत बगाएको छ । ती गोठमा रहेका भैसी, बाख्रा समेत पहिरोले पुरेको छ । ‘बेपत्ता भएका मानिस र पशुको उद्दारका लागि प्रयास थालेका छौ’ भुसालले भने ।