पर्वत, असार १२–
लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार नियन्त्रणका लागि सबैको उत्तिकै दायित्व रहने यहाँ आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जोड दिएका छन् । लागुऔषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय पर्वतले सोमबार सदरमुकाम कुश्मामा आयोजना गरेको अन्तरक्रियामा सबैले नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा सहभागीले जोड दिएका हुन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले अञ्चलकै मुख्य नाका र सीमा जोडिएका केही जिल्लामा लागुऔषध उत्पादन र ओसारपसार भइरहेको सुचनाले पर्वतमा नियन्त्रणको केही चुनौती रहेको बताए । उनले मुख्य–मुख्य नाकामा विशेष निगरानी बढाएर ओसारपसारमा सुन्य बनाउन सकिएमा त्यसमा सहभागी रहेका समेत तितरबितर पारेर निष्तेज पार्न सकिने बताए । उनले औषधी ब्यवसायीसंगै सरोकारवाला निकायहरु निरन्तर सचेत रहनुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शेखर खनालले प्रहरीले मात्रै केही गर्न नसक्ने भन्दै सबैको साथ र सुचना प्रहरीलाई हुनुपर्ने बताए । ‘लागुऔषध प्रयोग र ओसारपसार गरेको बेला चुपचाप बस्ने र सार्वजनिक कार्यक्रममा प्रहरीलाई गाली गरेर केही हुँदैन’ उनले भने–‘बरु सबैले कहाँ कसरी लागुऔषधको प्रयोग भइरहेको छ, ओसारपसार भइरहेको छ प्रहरीलाई तत्काल सुचना दिन आवश्यक छ ।’
जिल्ला जनस्वास्थ्य प्रमुख डा.बुद्धिबहादुर थापा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले लागुऔषध निष्तेज पार्नका लागि सबै सरोकारवाला निकायको उत्तिकै भुमिका रहनुपर्ने भनाई राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मधुकरजंग बिष्टले लागुऔषधको नेपालको अवस्था र प्रहरीले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी प्रबिन ढकाल र स्वागत मन्तब्य सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम पौडेलले गरेका थिए ।
‘लागुऔषध नियन्त्रण सबैको दायित्व’


