spot_img

शिक्षामा लाखौँको चलखेल, नियम बिपरित अस्थायी करारलाई धमाधम सरुवा

पर्वत असार ११–जिल्ला शिक्षा कार्यालय पर्वतमा लाखौँ रुपैयाँको चलखेल भएको पाइएको छ । शिक्षामा कार्यरत कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने अन्तिम तयारी हुँदा जिल्ला शिक्षा अधिकारी, बिद्यालय निरिक्षकसहितका कर्मचारीले मोटो रकम लिएर नियमबिपरित सरुवा गरेका छन् ।
आर्थिक बर्षको अन्तिम समयमा सबै शक्ति लगाएर प्रगति देखाउनुपर्ने बेलामा कर्मचारीले अस्थायी र करारका शिक्षकलाई नियमबिपरित सरुवा गरेर लाखौँ रुपैया कुम्ल्याउनमा कस्सिएका हुन । शिक्षा कार्यालयमा एक जना शिक्षक सरुवा गरेवापत २५ हजारदेखि एक लाख रुपैयाँसम्म लिनेदिने हुने गरेको शिक्षा कार्यालयकै एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार प्राविको २५ हजार रुपैयाँ लिने गरिएको छ । त्यस्तै निमावि शिक्षकले सरुवा हुनका लागि ५० हजार रुपैयाँ र माबिका शिक्षकले ७५ हजार रुपैयाँ बुझाउनेपर्ने उनले बताए । उनकाअनुसार विगतमा स्रोतब्यक्ति राख्दा एक लाखसम्म शिक्षा कार्यालयले बुझेको दाबी गरे । ‘पैसा नदिएसम्म नियमसँगत आएका फाइल पनि सरुवा हुँदैन, पैसा भएपछि अस्थायी र करारका शिक्षक पनि आफुले भनेकै ठाउँमा जान पाउँछन्’ शिक्षा कार्यालयस्रोतले भन्यो ।
कुनैपनि बिद्यालयमा अस्थायी करार नियुक्ति शिक्षा नियमावली २०५९ (संशोधनसहित) नियम ९७ अनुसार नियुक्ति गरी बढीमा एक शैक्षिक सत्रको लागि बिद्यालयले करार सम्झौता गरेको हुन्छ । अन्य कुनैपनि बिद्यालयसँग सम्बन्धित नहुने भएका कारण शिक्षा विभागले शैक्षिक सत्र २०६९÷७० मै अस्थायी करारका शिक्षकको सरुवा नगर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको थियो । तर, शिक्षाले त्यो निर्देशनबिपरित पैसा लिएर जथाभावी सरुवा गरेको हो ।
विभागले करार सम्झौता भनेको करारमा उल्लेख भएअनुसार प्रथम पक्ष र दोस्रो पक्षबाट पालना नगरे जुनसुकै बेला भंग हुन सक्ने भएकाले एउटा बिद्यालयमा अस्थायी करार नियुक्ति गरेको शिक्षक अर्को बिद्यालयमा सरुवा गर्ने कार्य मनासिव नदेखिने बताएको छ ।
शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ ज तथा शिक्षा नियमावली २०५९ (संसोधनसहित) को नियम ९९ मा सरुवा सम्बन्धी ब्यवस्था स्थायी शिक्षकका लागि गरिएको भएपनि जिल्ला शिक्षा कार्यालय पर्वतले त्यही ब्यवस्थालाई टेकेर नियमबिपरित सरुवा गर्ने गरेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले पनि अस्थायी करार शिक्षक सरुवाका लागि कुनै ब्यवस्था नभएको र गर्न पनि नपाइने बताएको छ । दरबन्दी मिलान र बिद्यालय समायोजनमा बाहेक अस्थायी करारलाई सरुवा गर्न नपाइने निर्देशनालको दाबी छ । यति हुँदाहुँदै पनि जिल्ला शिक्षा कार्यालय पर्वतमा अहिले धमाधम सरुवा भइरहेको छ । बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा आचारसंहिता लागेको भएपनि शिक्षा कार्यालयले त्यो समयमा समेत अघिल्लो मिति राखेर सरुवा गरेको पाइएको छ ।
विशेषगरी जिल्ला शिक्षा कार्यालय पर्वतमा बिहान र बेलुकादेखि रातीसम्म यस्ता नियमबिपरितको कामको टिप्पणी उठ्ने गरेको छ । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले भने आफुले एकसाताबढि काम विशेषले जिल्ला छाडेको बताउदै सरुवाको बिषयमा केही थाहा नभएको बताए । ‘म नभएको समयमा सरुवा गर्नपनि सक्छन तर त्यसको बारेमा मलाई केही थाहा भएन’ पोखरा गोष्ठीमा भएको बताएका पौडेलले भने ।
त्यसो त जिल्ला शिक्षा कार्यालयमा कर्मचारीले शिक्षकहरुको काममा आफु÷आफु मिलेर नै अख्तियार र शिक्षा विभागमा उजुरी गर्ने गरेका छन् । ‘शिक्षामा आफै झांक्री, आफै धामी बन्ने रमाइलो परम्परा रहेछ’ एक शिक्षकले भने । शिक्षा कार्यालयले अहिले नियमबिपरितका सरुवा धमाधम गरेपनि नियम र प्रक्रिया पु¥याएर आएका फाइललाई भने महिनौसम्म हल्लाउने गरेका छन् । ‘नियमबिपरित अस्थायी करारका शिक्षकलाई सरुवा गर्ने कर्मचारीले प्रक्रिया पुरा गरेका स्थायी शिक्षकको समेत पैसा नदिएसम्म सरुवा नै नगर्ने, फाइललाई थन्क्याउने आश्चर्यजनक काम जिल्ला शिक्षामा हुने रहेछ’ एक स्थायी शिक्षकले भने ।

spot_img

भर्खरै