पर्वत, असार ७–कालीगण्डकी नदीमा तीन दिनअघि भेटिएको शव कुश्मा–१ पाङका नारायण पौडेलको भएको परिवारले दाबी गरेको छ । दुई सातादेखि बेपत्ता २० बर्षिय पौडेलको परिवारले घाटीमा लगाएको गोलीको माला र जनैको आधारमा शव नारायण पौडेलकै भएको दाबी गरेको हो ।
जेठ २५ गतेदेखि सम्पर्कबिहिन भएका उनी कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीमा अध्यापन गराउदै आएका थिए । शरिरमा कुनै कपडा नभएको र अनुहार पनि नचिनिने भएका कारण शतप्रतिशत पुष्टि नभएपनि नारायणका बाबुले भने छोराकै शव भएको दाबी गरेको प्रहरी नायव उपरीक्षक शेखर खनालले बताए ।
‘बेपत्ता भएका शिक्षकका बाबुले शव हेरेर घाटीको मालाका आधारमा छोराकै भएको दाबी गरेका छन तर हामीले शतप्रतिशत उनकै शव भनेर पुष्टि गर्न सकेका छैनौ’ खनालले भने । शव नजिनिने अवस्थामा भेटिएको छ । परिवारले नारायणकै शव भएको दाबी गरेपनि प्रहरीले डिएनए परिक्षणपछि मात्रै पत्ता लाग्ने बताएको छ । शवलाई प्रहरीले परिवारको परामर्शमा काठमाडौ पठाउने तयारी गरेको छ ।
कुश्मा–१ पाङ घर भएका पौडेल कुश्मा–५ मेलमिलापचोकमा भाडामा बस्दै आएका थिए । पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो । तीन छोरामध्ये उनी परिवारका माइला हुन ।
शिक्षक बेपत्ता भएपछि घटना रहस्यमय बनेको छ । प्रहरीले उक्त शव बेपत्ता पौडेलकै भएपनि आत्महत्या वा हत्या भन्ने बिषयमा अनुसन्धान थालेको जनाएको छ । ‘शव बेपत्ता भएका पौडेलको हो वा होइन, हो भने कसरी मृत्यु भयो भन्ने बिषयमा सुक्ष्म रुपमा अनुसन्धान थालेका छौ’ खनालले भने ।