पर्बत, असार २–स्वास्थ्य क्षेत्रका समाचारलाई सञ्चारमाध्यमले विशेष महत्व दिनुपर्नेमा यहाँ जोड दिइएको छ । परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी जिल्लामा क्रियाशिल पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो जोड दिएका हुन । राष्ट्रिय स्वास्थ्य सुचना तथा संचार केन्द्रको आयोजना र जिल्ला स्वास्थ्य कार्यालय पर्बतको समन्वयमा बिभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारसँगको अन्तरक्रियामा स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रका समाचारलाई प्राथमिकता दिन नसकिएकोमा ध्यानाकर्षण गराइएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्बतका प्रमुख बुद्धिबहादुर थापाले परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी प्रकाश पार्दै स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य क्षेत्रका समाचारलाई बढी प्राथमिकता दिएर जनमानसमा स्वास्थ्य क्षेत्रप्रति सचेत गराउनुपर्नेमा जोड दिए । परिवार नियोजन के हो र किन गरिन्छ यसको बारेमा समेत प्रकाश पार्दै उनले परिवार नियोजन गर्ने प्रकृतिका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनले परिवार नियोजन र यसका साधनहरु, सुरक्षित मातृत्व तथा नवजात शिशुका बारेका संचार क्षेत्रले खेलेको भुमिकाको बारेका समेत चासो व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रम विशेष गरी गर्भवती हुने महिला, गर्भवती भइसकेपछि गर्भ र आमाको सुरक्षा एवम् सुत्केरी भइसकेपछि अर्थात बच्चा जन्मिसकेपछि तिनीहरुको पालनपोषण तथा बच्चा जन्माउने आमाको सुरक्षा तथा सुरक्षित बच्चा जन्माउने विषयमा केन्द्रित रहेको उक्त कार्यक्रममा गर्भवती महिलाले स्वयम गर्नुपर्ने कार्य र शिशु जन्माउदा ध्यान दिनुपर्ने कुराहरुको विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा नागरिक दैनिकका पत्रकार दीलिप पौडेलले पत्रकारले आफ्नो रिपोटिङलाई सरल र सहजताका रुपमा लिँदै स्वास्थ्यको रिपोटिङलाई प्राथमिकता दिनु पर्ने बताए । उनले स्वास्थ्य क्षेत्रका समाचारलाई सामान्य रुपमा लिएपनि त्यसले जनमानसमा ठुलो प्रभाव पार्नसक्ने बताए । नेपालमा १९९७ बाट सुरक्षित मातृत्व कार्यक्रमको सुरुवात भएको थियो । नेपाल पत्रकार महासंघ पर्बतका अध्यक्ष छबिलाल तिबारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन फोकल पर्सन सिमा कुँवरले गरेकी थिइन ।