काठमाडौं, असार १ –निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो ।
राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो । आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।
सत्तारुढ दलका एक नेताले भने, ‘आउदिँन भनेको पनि छैन तर, के भयो भने आउँछ पनि भनेको छैन ।’ राजपाका नेता महेन्द्र राय यादवले भने आफूहरुले २ र ५ नम्बरको चुनाव सार्न माग गरेको अनलाइनखबरलाई बताए । ‘हामीले संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका माग पुरा गर्नुस् भनेका छौं । उहाँहरुले गर्छौ भन्नु भएको छ’ उनले भने, ‘अब सरकारले के निर्णय गर्छ हेरौं ।’