spot_img

सडक कालोपत्रे र फलामेपोल सबैको प्रतिबद्धता

पर्वत, बैशाख २८ , कुश्मा नगरका प्रमुख दलका उम्मेदवारले गाउँगाउँसम्म सडक कालोपत्रे र काठका पोल बिस्थापित गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रका उम्मेदवारले कालोपत्रे र फलामेपोल बिस्तारलाई पहिलो प्राथमिकतामा राखेका हुन ।
कुश्मा नगरमा काँग्रेसबाट प्रमुखमा रामचन्द्र जोशी, एमालेबाट प्रमुखमा मेघनाथ सुवेदी र माओबादी केन्द्रबाट प्रमुखमा शंकर गिरी चुनावी मैदानमा छन् । यो नगरमा मुख्य रुपमा काँग्रेस र एमालेबिच प्रतिष्पर्धा भएपनि माओबादी केन्द्र समेत आक्रामक रुपमा प्रचारमा छ । तीनै उम्मेदवारले पहिलो प्राथमिकतामा सदरमुकामदेखि वडा कार्यालयमा पुग्ने मुल सडकलाई कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘गाउँसम्म अहिलेसम्म कच्ची सडकमात्रै छ मैले सबै वडाका कार्यालयसम्म मुल सडकलाई मेरो कार्यकालमै कालोपत्रे गर्छु’ काँग्रेसका प्रमुख पदका उम्मेदवार जोशीले भने । उनले अहिले आर्थरडाडाखर्कबाट कुश्मा आउदा दुई घण्टा लाग्ने भएपनि कालोपत्रे गरेपछि आधा घण्टामै सदरमुकाम आउनसक्ने दाबी गरे ।
यता एमालेका प्रमुख पदका उम्मेदवार सुवेदीले पनि आफ्नो घोषणापत्रमा कच्ची सडकलाई कालोपत्रे गरेरै छाड्ने उल्लेख गरेका छन् । ‘पाँच बर्षभित्रमा वडातहसम्म जाने सडकलाई कालोपत्रे गर्नका लागि पहिलो प्राथमिकता दिइनेछ’ सुवेदीको घोषणामा पत्रमा छ । माओबादी केन्द्रका उम्मेदवार गिरीले पनि गाउँ जाने सडकलाई कालोपत्रे गर्ने आफ्नो अजेण्डा भएको बताए ।
त्यस्तै गरी कालोपत्रेपछि फलामेपोल बिस्तारलाई पनि दलहरुले प्राथमिकतामा राखेका छन् । नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीले पाँच बर्षको अवधिमा नगरभित्र काठको पोलसबै बिस्थापित हुने बताए । ‘मैले जितेमा सबै काठका पोल बिस्थापित गरी फलामेपोल राख्ने प्रतिबद्धता जनाउछु’ चुनावका क्रममा आयोजित पत्रकार सम्मेलनमा जोशीले भने ।
उनले धेरै ठाउँमा बर्षौदेखि राखिएका काठका पोलका कारण दुर्घटना हुने सम्भावना भएकोले आफुले चुनावका क्रममा काठका पोललाई बिस्थापित गर्ने पहिलो रणनीति बनाएको बताए । एमालेका उम्मेदवार मेघनाथ सुबेदीले पनि सबै वडामा पाँचबर्षभित्रमा फलामका पोलमात्रै देख्नसकिने दाबी गरे । ‘हेर्नुस् मैले जितेमा एउटा पनि काठका पोल देख्न पाउनेहुने छैन’ उनले भने । माओबादी केन्द्रका गिरीले पनि काठका पोलले दुर्घटना हुने अवस्था भएका कारण मुख्य प्राथमिकतामा बिद्युतको पोललाई जोड दिएको बताए ।
कुश्मा नगरमा हरेक दलका नेतामा पनि सडक र बिद्युत पोलका माग बढी नै आउने गरेको छ । सदरमुकाममा अधिकांश फलामेपोल भएपनि गाउँका वडामा अधिकांश काठे पोल रहेका छन् ।

spot_img

भर्खरै