पर्वत, बैशाख २८ । आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा मतदान गर्दै छन् ।
प्रधानमन्त्री समेत रहेका दाहालले वैशाख ३१ गते चितवनको भरतपुर महानरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रुख चिन्हमा मतदान गर्दै छन् ।
भरतपुरमहानगरपालिकाको मेयर पदकी प्रत्यासी रेणु दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुन । रेणुको पक्षमा मतदान गर्न जाँदा अध्यक्ष प्रचण्डले रुख चिन्हमा मतदान गर्दै छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा कार्यान्वयनका लागि पठाएको पत्रमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेस र माओवादीबीच समझदारी भए अनुसार भरतपुर महानरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई कांग्रेसले समर्थन गर्ने र उपप्रमुख पदमा कांग्रेसकी प्रत्यासी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गरी निर्वाचनमा तालमेल गर्ने निर्णय भएको जानकारी गराएका छन् ।
तालमेलका आधारमा अध्यक्ष प्रचण्डसहित भरतपुरमहानगरपालिकामा रहेका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले उपमेयर पदकी प्रत्यासी पार्वती शाहलाई जिताउन रुख चिन्हमा मतदान गर्दै छन् । यता कांग्रेसका नेता तथा कार्यकर्ताले मेयर पदकी प्रत्यासी रेणु दाहाललाई जिताउन माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हसिया हथौडामा मतदान छन् ।
स्थानीय तह निर्वाचन ऐन ०७३ को दफा १८ र दफा २३ को उपदफा ५ बमोजिम कांग्रेसका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका प्रत्यासी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिने निर्णय भएको र सोही अनुसार कार्यान्वयन गराउन देउवाले निर्वाचन अधिकृतको कार्यालय चितवनलाई अनुरोध गरेका छन् ।
भरतपुर महानगरपालिकामा माओवादी नेतृ रेणु र कांग्रेस नेतृ पार्वती मतदाता समक्ष पुगेर संयुक्त रुपमा भोट मागिरहेका छन् । मेयर र उपमेयर मध्ये एक जना महिला हुनै पर्ने संवैधानिक व्यवस्था भएपनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीको तालमेल अनुसार मतदान भएको अवस्थामा मेयर र उपमेयर दुवै महिला नेतृ हुनेछन्।