spot_img

काँग्रेस नेताहरुले पाङबाट गरे उद्घोष–‘पर्वतका सातै तह जित्छौ’

पाङमा भएको चुनाबी सभाका सहभागी ।

पर्वत, बैशाख २७, नेपाली काँग्रेसका नेताहरुले बुधबार पाङ पुगेर पर्वतका सातै स्थानीय तह जित्ने उद्घोष गरेका छन् । कुश्मा नगरपालिका चुनाव प्रचार प्रसार समितिले पाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसहित जिल्लाका प्रमुख नेताहरुले एउटै मञ्चबाट सबै स्थानीय तहमा काँग्रेसले जित्ने उद्घोष गरेपछि कार्यकर्ताले गडगडाहट तालीले उत्साह प्रवाह गरेका थिए । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले आफु उत्तरदेखि दक्षिणसम्मको स्थानीय तहमा पुग्दा गाउँगाउँमा नेपाली काँग्रेसप्रतिको आकर्षण निकै बढेको पाएको बताए ।
विगत ७० बर्षदेखि यता भएका सबै परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको, संविधान जारी समेत नेपाली काँग्रेसकै नेतृत्व र पहलकदमीमा भएको उल्लेख गर्दै अब संविधानको पूर्ण कार्यान्वयन र मुलुकलाई आर्थिक समृद्धि दिन पनि नेपाली काँग्रेसकै नेतृत्व हुनुपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गर्दै पर्वतका सात वटै स्थानीय तह जित्ने बताए । ‘उत्तरदेखि दक्षिणसम्म पुग्दा नेपाली काँग्रेसप्रतिको आकर्षण र उत्साह निकै राम्रो भएको पाएको छु, यो हिसाबले पर्वतका सात वटै तह जित्ने पक्कापक्की भएको छ’ नेता जोशीले भने ।
सभामा नेपाली काँग्रेस पर्वतका निबर्तमान सभापति लालकाजी गुरुङ, पूर्वसभापति नवराज गुरुङ महासमिति सदस्य बसन्तबहादुर सिके, महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङलगायतले पर्वतका सात वटै तहमा नेपाली काँग्रेस विगतभन्दा निकै सुदृढ भएको, नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेकोले पर्वतका सबै तह जित्ने दाबी गरेका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख (मेयर) पदका उम्मेदवार रामचन्द्र जोशी र उपप्रमुख (उपमेयर) पदका उम्मेदवार सिता काफ्ले लामिछानेले आफुहरुले समृद्ध र नमुना कुश्माका लागि स्पष्ट योजनासहित उम्मेदवारी दिएकोले रुखमा मत हाली बिजयी गराउन आग्रह गरेका थिए ।

spot_img

भर्खरै