spot_img

जलजलामा दुई तिहाई मतान्तरले जित्ने रणनीतिमा काँग्रेस

पर्वत, बैशाख २७, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्रीले शान्ति र लोकतन्त्रको स्थायित्व तथा दिगो विकास गरी मुलुकलाई समृद्ध बनाउनका लागि नेपाली काँग्रेसको जीत आवश्यक भएको बताएका छन् । मंगलबार जलजला–९ मा आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै खत्रीले भने निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न, बिद्रोहलाई अन्त्य गरी मुलुकमा शान्ति स्थापना गर्न नेपाली काँग्रेसले लामो कालखण्डमा संघर्ष गरेको भन्दै अब दिगो विकास गर्न पनि काँग्रेसकै नेतृत्व आवश्यक भएको बताए ।
नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाको अध्यक्षका उम्मेदवार यामबहादुर मल्ल (रामकृष्ण)ले जलजलालाई समृद्ध बनाउन काँग्रेसको जीत अपरिहार्य भएको बताए । आफुले जलजलाको विकासका लागि के के गर्नुपर्छ भनेर सबै योजना तयार पारेको भन्दै आफ्नो यो अभियानमा साथ दिन रुखमा भोट हालेर नेपाली काँग्रेसलाई जिताउन मल्लले सबै मतदातामा आग्रह गरे ।
नेपाली काँग्रेसले विगतमा पनि जलजलाक्षेत्रको विकासका लागि कुनै स्वार्थ नराखी काम गरेको स्पष्ट पार्दै उनले भने–‘जिताएर हेर्नुस, जलजलाका जनतालाई काँग्रेसले कहिल्यै धोका दिदैन ।’ उनले जलजलाक्षेत्रको सडक, बिजुली, खानेपानीसहित शिक्षा र कृषिक्षेत्रको विकासका लागि निरन्तर काँग्रेस सक्रिय हुँदै आएको अबका दिनमा हरेक वडामा सडक कालोपत्रे गर्ने फलामेडाडा, हम्पालसहितका पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माण गर्ने, विभिन्न पदयात्राहरु निर्माण तथा प्रचार प्रसार गर्ने, जलजलाका हरेक वडामा माटो परिक्षण गरी जुन वडामा जे उत्पादन हुन्छ एक वडा एक उत्पादनको अवधारणा ल्याएको बताए ।
त्यसैगरी उनले गाउँपालिकाभित्रका सबै वडामा रहेका काठका पोललाई बिस्थापित गरी आफ्नो कार्यकालमा सबै परिवर्तन गरी फलामेपोल गाड्ने उद्घोष मल्ले गरेका छन् । कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार सिमा पुनले आफुले सबै समय गाउँपालिकाको विकासमा लगाउने बताउदै रुखमा मतदान गरेर जिताउन आग्रह गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य कृष्ण केसी, पूर्व सदस्य सोम पुन, नेपाली काँग्रेस जलजला गाउँपालिकाका संयोजक चन्द्रबहादुर जिसी, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति टिकाराम सुवेदी, पूर्वमहाधिवेशन प्रतिनिधि गोबिन्द पौडेल, नेपाली काँग्रेसका युवा नेता राजु आचार्य, क्षेत्रीय सचिव कमल अधिकारीलगायतले जलजला विकासमा केन्द्रीत रहेर आ–आफ्ना भनाई राखेका थिए । पर्वत जिल्लामै सबैभन्दा बढी काँग्रेसको पकड क्षेत्रका रुपमा लिइएको यो गाउँपालिकामा नेपाली काँग्रेसले दुई तिहाई मतले जित्ने रणनीति बनाएको बताएको छ ।

spot_img

भर्खरै