spot_img

कुश्मा र फलेबासमा काँग्रेस एमालेकै प्रतिष्पर्धा


पर्वत, बैशाख २५ । पर्वतका दुई वटै नगरपालिकामा काँग्रेस र एमालेकै उम्मेदवारबिच प्रतिष्पर्धा हुने देखिएको छ । कुश्मा नगरपालिकाको प्रमुखमा काँग्रेसका रामचन्द्र जोशी, एमालेका मेघनाथ सुवेदी र माओबादी केन्द्रका शंकर गिरी, राप्रपाका प्रकाश पौडेल, संयुक्त बाममोर्चाका तेजेन्द्र पौडेल र नयाँ शक्तिका सुनिल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
नेबिसंघका पूर्वकेन्द्रीय सदस्य जोशी काँग्रेसभित्र लोकप्रिय र उदयमान नेता हुन । उनी कुश्मा नगरको विकासको आवश्यकताका बिषयमा बिशेष दख्खल राख्ने नेतामध्येमा पर्छन । एमालेका पूर्वउपसचिव सुवेदी कसैलाई नपिराएका नेता हुन । माओबादी केन्द्रका केन्द्रीय सदस्य गिरी युवा नेता हुन । कुश्मा नगरपालिका काँग्रेसको गढ मानिदै आएपनि पछिल्लो पटकको स्थानीय तह निर्धारण आयोगले एमालेका गढ मानिएका साबिकका ठुलीपोखरी, खौलालाकुरी र आर्थरडाडाखर्क गाविस मिसिएपछि प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । यद्यपी काँग्रेस उम्मेदवार जोशीको लामो समयदेखि नगरको विकासमा चासो र सक्रियताले उनले ढुक्कले चुनाव जित्ने अडकल काँग्रेस नेता कार्यकर्ताले गरेका छन् ।
कुश्मा नगरपालिकामा काँग्रेसको तर्फबाट संयन्त्र प्रतिनिधि भएर बैठक भत्ताबापत पाउने रकमसमेत बिपन्न, दलित बालबालिकाको शैक्षिक विकासमा खर्च गर्दै आएका जोशी कुश्मा नगरका हरेक वडामा भिजेका नेता मानिन्छन् । स्थानीय तह निर्धारणका बेला तीन वटा साविकका गाविस थपेका कारण आफुले जित्ने दाबी एमालेले गरेको छ । कुश्मा नगरपालिका क्षेत्र नम्बर १ मा पर्छ । पर्वत क्षेत्र नम्बर १ मा २०५१, २०५६, २०६४ र २०७० मा लगातार काँग्रेसले जित्दै आएको छ ।
काँग्रेसका जोशीले कुश्माको समृद्धिका लागि पर्यटन, जलबिद्युत, कृषि आधुनिकिकरण, आयआर्जन, बिपन्न बालबालिकाको पोषणमा बिशेष जोड दिएका छन् । उनले युवादेखि बृद्धबृद्धा सम्ममा कार्यक्रमहरु प्रस्तुत गरेका छन् । जोशीले कुश्मा नगरपालिकालाई मुलुककै नमुना नगरपालिकाका रुपमा विकास गर्ने घोषणा गरेका छन् । ‘म कुरा र गफ भन्दा काम गरेर देखाउने ब्यक्ति हुँ’ उनी भन्छन्–‘मैले जित्छु र मैलै प्रतिबद्धता गरेबाहेकका अन्य धेरै काम पनि गरेर देखाउने छु ।’
एमालेका सुवेदीले पर्यटनसँगै रोजगारमुलकक्षेत्रमा लगानी बढाउने प्रतिबद्धता प्रस्तुत गरेका छन् । उपप्रमुखमा काँग्रेसले सिता काफ्ले लामिछाने, एमालेले मुगा पोखरेल र माओबादी केन्द्रले तारा रिजाललाई उठाएको छ । १७ वटा मतदानस्थल रहेको कुश्मा नगरपालिकामा २३ हजार चार सय ४५ जना मतदाता रहेका छन् ।
यसैगरी फलेबास नगरपालिकामा पनि काँग्रेस र एमालेबिच नै प्रतिष्पर्धा छ । फलेबासमा काँग्रेसबाट गंगाधर तिवारी, एमाले बाट पदमपाणी शर्मा र माओबादी केन्द्रबाट मोती शर्मा रेग्मी प्रमुखमा लडेका छन् । काँग्रेसका महासमिति सदस्य तिवारी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पर्वत २ बाट टिकटको दाबेदार थिए ।
फलेबास नगरको मेयरमा काँग्रेसबाट १० जना आकांक्षी रहेपनि सबैभन्दा बलियो मानिएका तिवारीलाई पार्टीले टिकट ठमाएको हो । एमालेका शर्मा पार्टीका जिल्ला सचिव हुन । उनी पनि एमालेबाट २०६४ र २०७० मा पर्वत २ बाट संविधानसभा निर्वाचनमा टिकटको दाबी गरेका थिए । दुबै उम्मेदवार आ–आफ्ना कार्यकर्तामा बढि रुचाइएका नेता हुन ।
११ वटा वडा रहेको फलेबास नगरपालिकामा साविकका थापाठाना, भंगरा, शंकरपोखरी, मुडिकुवा, पाङराङ गाविस काँग्रेस बलियो मानिन्छ । खानीगाउँ, लिमिठाना, ठानामौला एमाले बलियो छ । देबिस्थान, कुर्घा, कार्कीनेटा दुबै पार्टीको उस्तै मतदाता छन् ।
यो नगरपालिकामध्ये सबैभन्दा बढी मतदाता शंकरपोखरीमा रहेका छन् । तिवारी शंकरपोखरी र शर्माको कार्कीनेटा घर हो । १४ वटा मतदानस्थल रहेको यो नगरपालिकामा कुल मतदाता संख्या १९ हजार दुई सय २४ जना रहेका छन् ।
के छ प्रतिबद्धता ?
यसैबिच नेपाली काँग्रेस कुश्मा नगरपालिकाका मेयर पदका उम्मेदवार रामचन्द्र जोशीले कुश्मा नगरपालिकालाई मुलुककै नमुना नगरपालिका बनाउने उद्घोष गरेका छन् । नगरभित्र ५० शैयाको सुबिधा सम्पन्न अस्पताल, हरेक वडामा पक्की सडक पु¥याउने, दुई बर्ष सम्मका बालबालिकालाई पोषण कुपन उपलब्ध गराउने, कुश्मा–ज्ञादी, कुश्मा–बलेवालाई पक्की पुलले जोड्ने, हरेक घरमा छुट्टाछुट्टै धारा पु¥याउने, युवा उद्यमी कोषमार्फत बनाएर युवाबर्गलाई आयआर्जन, रोजगारमुलक काममा लगाउने, कुश्मामा विभिन्न पर्यटकीय तथा धार्मिक स्थल रहेकोले त्यसको भौतिक पूर्वाधार निर्माण गरी प्रचारप्रसारमार्फत बार्षिक हजारौ पर्यटक भित्राउने, कुनैपनि बिपन्न गरिब बालबालिकालाई खोजी–खोजी शिक्षाको अवसर दिलाउने, किसानलाई अनुदान र सहुलियत प्रदान गरी युवाबर्गलाई बैदेशिक रोजगारीमा जान छाडेर कृषिक्षेत्रमा लाग्ने उत्प्रेरणा प्रदान गर्न प्रोत्साहन गर्ने, खेतीयोग्य जमिनमा सिंचाई, बाँझो जमिनलाई खेती लगाउन प्रोत्साहन, बजारिकरणको ब्यवस्थासहित पकेटक्षेत्रहरु पहिचान गर्ने बाली बिमा बिस्तार गरी कुश्मा नगरलाई आत्मनिर्भर बनाउने जोशीले प्रतिबद्धता जनाएका छन् ।
यसैगरी कुश्मा मेयरका उम्मेदवार मेघनाथ सुबेदीले ज्योतिष अनुसन्धान केन्द्र निर्माण, सडक कालोपत्रे, अस्पताल, बाँझो जमिन राख्नेलाई अतिरिक्त कर लगाउने, बधशाला निर्माण लगायतका योजना सार्वजनिक  गरेका छन् । त्यस्तै मेयर पदका अर्का उम्मेदवार शंकर गिरीले हरेक वडामा १५ शैयाको अस्पताल निर्माणसहितका कार्यक्रम ल्याउने बताएका छन् ।

अघिल्लो समाचार
अर्को समाचार
spot_img

भर्खरै