spot_img

उत्तर कोरियाविरुद्ध कुटनीतिक एवं आर्थिक प्रतिवन्ध लगाउने रणनीतिमा अमेरिका

अमेरिकाले उत्तर कोरियाविरुद्ध कुटनीतिक एवं आर्थिक प्रतिवन्धका माध्यमले दवाब दिने रणनीति बनाएको छ। अमेरिकी सिनेटका सबै सदस्यहरु उत्तर कोरियाबाट उत्पन्न खतराबारे गम्भीर छलफल गर्दै विशेष रणनीति बनाउन लागेका हुन्।

उक्त रणनीतिको उद्देश्य उत्तर कोरियालाई ब्यालिष्टिक क्षेप्यास्त्र तथा परमाणु कार्यक्रम छाड्न लगाउनु रहेको छ। ‘चीनलाई उत्तर कोरियामाथि चर्को दबाब दिन लगाउनु सो रणनीतिको एक मुख्य पाटो हो’ स्रोत भन्छ।

सिनेटर टेड क्रुजले चीनलाई समस्या समाधानमा सामेल गर्न सकिनेमा आफू सतर्कतापूर्वक आशावादी रहेको बताए। उनले भने, ‘उत्तर कोरियालाई तह लगाउने विषयमा चीनले मद्दत गरिरहेको प्रारम्भिक संकेत देखिएका बारे म सतर्कतापूर्वक आशावादी छु। मारा लागोमा भएको राष्ट्रपति ट्रम्प तथा राष्ट्रपति सी बिचको भेट केही फलदायी भएको देखिन्छ। हेरौं समयले बताउँछ कि चीन यसमा कत्तिको भरपर्दो साझेदार ठहरिन्छ।’

वाशिंगटनमा असामान्य तवरबाट अमेरिकी सिनेटका सबै एक सयजना सदस्यलाई बोलाई ह्वाइट हाउसमा उत्तर कोरियाबाट उत्पन्न खतराबारे छलफल गरिएको हो।

यसअघि प्यासिफिक क्षेत्रमा रहेका अमेरिकी सेनाका वरिष्ठ कमाण्डरले दक्षिण कोरियामा आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिएको कार्यको बचाउ गरेका थिए।

उत्तर कोरियाले ताजा अस्त्र परीक्षण गर्ने आशंकाका माझ कोरियाली प्रायद्विपमा तनाव बढेको छ।अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जीम म्याटिस तथा नेशनल इन्टेलिजेन्सका डिरेक्टर ड्यान कोट्सले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकाले कोरियाली प्रायद्विपमा शान्तिपूर्ण परमाणु निरस्त्रीकरण एवं स्थायित्व चाहेको जनाएका छन्।

सो लक्ष्य प्राप्त गर्न वार्ताका निम्ति तयार भएपनि आफू र आफ्ना साझेदारहरुको रक्षाका निम्ति अमेरिका तयार रहेको त्यसमा जनाइएको छ।
राष्ट्रपतिले उत्तर कोरियालाई परमाणु अस्त्र तथा ब्यालिष्टिक क्षेप्यास्त्र निरस्त्रीकरण गर्नका निम्ति चर्को आर्थिक प्रतिबन्ध लगाउने तथा साझेदारहरुसंग मिलेर कुटनीतिक विधि अपनाउने वक्तव्यमा उल्लेख छ।
बीबीसीका अनुसार, उत्तर कोरियाले अस्त्र प्रविधिमा गरेको विस्तारबाट अमेरिकीहरु निकै चिन्तित छन्। राष्ट्रपति डोनल्ड ट्रम्पको पहिलो कार्यकाल सकिनु अगावै उत्तर कोरियाले अमेरिकामा मार हान्न सक्ने गरी परमाणु वारहेड बनाइसक्ने उनीहरुको चिन्ता छ। (बीबीसी)

spot_img

भर्खरै