spot_img

आन्दोलनकारीसँग वार्ता गर्ने, संविधानको प्रक्रिया नरोक्ने

काठमाडौं, भदौ १७ । प्रमुख चार दलको बैठकले आन्दोलनकारीसँग वार्ता र संविधान लेखनको प्रक्रियालाई एक साथ अघि बढाउने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा विहीबार साँझ बसेको चार दलको बैठकले संघीयताको सिमाङ्कनका विषयमा असन्तुष्ट बनेर आन्दोलनरत पक्षसँग वार्ता गर्दा संविधान लेखनको प्रक्रिया नरोक्ने निर्णय गरेको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।‘असन्तुष्टलाई समेट्न अधिकतम् प्रयत्न गर्ने कुरा भएको छ । त्यसका लागि उनीहरुका कुन कुन मागलाई कसरी समेट्ने भन्नेबारे गहन अध्ययन गर्ने कुरा भएको छ’, नेता रावलले भने, ‘वार्ता गरिरहँदा पनि संविधान लेखनको प्रक्रिया भने नरोक्ने सहमति भएको छ ।’

प्रधानमन्त्री–प्रचण्ड भेट
यसैबीच विहीबार दिउँसो प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माण र देशको समसामयिक राजनीतिका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्ट दलहरुसँग वार्ताको वातावरण बनाएर अगाडि बढ्न सुझाव दिएको बताएका थिए ।
भेटमा संविधान निर्माण प्रकृयामा असहमति देखाएर आन्दोलनमा गएका राजनीतिक दलहरु र संविधानमा थप अधिकारको माग गर्दै आन्दोलनमा रहेका संविधानमा प्रतिनिधित्व नभएका दल तथा समूहले उठाएका मुद्दालाई कसरी सम्बोधन गर्नेबारे छलफल भएको थियो ।

spot_img

भर्खरै