काठमाडौँ, भदौ १६ । प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार बेलुका टेलिफोन वार्ता भएको छ ।
वार्तामा देशको राजनीतिक अवस्था र संविधान निर्माणका सम्बन्धमा कुराकानी भएको थियो ।
टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणलगायतका सबै राजनीतिक विषयमा संवादबाट समाधान खोज्न सकिने भएकाले औपचारिक रुपमा वार्तामा बस्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाए ।
वार्तामा तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री कोइरालाद्धारा औपचारिक वार्ताका लागि पठाइएको पत्र पाएको र वार्ताप्रति आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका थिए ।
तमलोपा अध्यक्ष ठाकुर मंगलबार मात्र काठमाडौँ फर्किएका थिए । मंगलबार बेलुका प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि टेलिफोन गरेका थिए ।
उहाँसँग सम्पर्क कायम हुन नसकेकाले सो पार्टीका सभासद् शिवजी यादवलाई फोन गरी प्रधानमन्त्रीले टेलिफोन संवाद गरी वार्ताका लागि औपचारिक आग्रह गर्न खोज्नु भएको सन्देश पु¥याइदिन आग्रह गर्नुभएको थियो । रासस