काठमाडौं, भदौ १४ । मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले फराकिलो जित दर्ता गरेको छ ।
आयोजक मलेसियाविरुद्ध क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ७६ रनको चुनौती नेपालले २१२ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आशिष धामीले अविजित रहँदै सर्वाधिक ३८ रन जोडे भने राजवीर सिंहले ३३ रनको योगदान दिए ।
नेपालको जितमा नेपाली बलरहरुको भूमिका पनि महत्वपूर्ण रह्यो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ५० ओभरको खेलमा ३८ ओभरमै सम्पूर्ण विकेट गुमाउँदै ७५ रनमा समेटिएको थियो ।
टस मलेसियाले सुरुआतबाटै खराब प्रदर्शन गर्यो । ५ रनमै पहिलो विकेट गुमाएको मलेसियाले ३० रन नजोड्दै ५ विकेट गुमाइसकेको थियो ।
मलेसियाका तर्फबाट पवनदीप सिंहले सर्वा्धिक १७ रन जोडे । उसका तीन ब्याट्सम्यानले मात्रै दोहोरो अंकको रन जोड्न सके । मलेसियाले १३ रन अतिरिक्त रनका रुपमा पाएको थियो ।
नेपालका आरिफले सेख १० ओभर बलिङ गर्दै मात्र १८ रन दिए सर्वाधिक ४ विकेट लिए । दीपेश श्रेष्ठ र दीपेन्द्र सिंह ऐरीले समान २–२ र सुशील कँडेल १ विकेट लिँदै मलेसियाका खेलाडीलाई सस्तैमा पवेलियन पठाए ।
जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई १४९ रनले हराएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटको हार ब्यहोरेको थियो ।
प्रतियोगितामा नेपाल, मलेसिया, युएई, अफगानिस्तान, साउदी अरेबिया र कतारको सहभागिता रहेको छ । यी टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसियाका कपका लागि छानिने छन् ।