कामना मासिक पत्रिकाले पहिलो पटक सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा आयोजना गरेको सिजी कामना फिल्म अवार्ड २०७१मा आर्यन सिग्देल र केकी अधिकारीले चलचित्र महशुस बाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड हात पारेका छन् । अभिनेता सिग्देल हप्ता दिन अघि मात्र अप्रेशन गरेको खुट्टालाई बैशाखीको साहाराले अवार्ड लिन पुगेका थिए भने केकी अष्ट्रेलिया रहेकाले अवार्डमा सहभागी हुन सकिनन् । त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा आयोजित अवार्ड समारोहमा नवल नेपालले महशुसबाटै उत्कृष्ट निर्देशकको अवार्ड थापे भने उत्कृष्ट चलचित्र पनि यही नै घोषित भयो ।
अवार्ड समारोहको शुरूवात पुरानादेखि नयाँ पुस्ताका कलाकारको नृत्यबाट भएको थियो । अभिनेताहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश उप्रेतीसँगै अहिलेका चर्चित बाल कलाकार अनुभव रेग्मीले पुरानादेखि नयाँ गीतमा नृत्य गरे । उनीहरुलाई भुवन चन्द, गौरी मल्ल, शर्मिला मल्ल, चैत्य देवी, झरना थापा, करिश्मा मानन्धर, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले साथ दिए ।
अवार्डको सुरुवातमा नै कलाकारिता तर्फबाट कीर्तिमाया दीर्घ योगदान सम्मानबाट कलाकार हरीप्रसाद रिमाललाई १ लाख नगद सहित सम्मानित गरियो । यस्तै प्रविधीतर्फको कीर्तिमाया दीर्घ योगदान सम्मानबाट छायांकार बैकुण्डमान मास्केलाई नगद १ लाख सहित सम्मानित गरियो ।अवार्ड कार्यक्रममा नेपाली चलचित्रमा लाग्दा लाग्दै निधन भएका कलाकारहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अभिनेत्री गौरी मल्लले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पछिल्लो चलचित्र कोहिनुरको शिर्ष गीतको म्यूजिकमा दियो बाल्दै नृत्य गरेकी थिइन् । उनलाई अन्य केही कलाकारले साथ दिए ।
कुल २६ विधामा प्रदान गरिएको अवार्डमा चलचित्रमहशुस हाबी देखियो । यो चलचित्रले ६ वटा विधामा अवार्ड जित्यो । अवार्ड जित्ने चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ ।