पर्वत । स्थानीय तहका जनप्रतिनिधिले पाउने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा मात्र नभई सामाजिक हितमा समेत खर्च गर्न सकिन्छ भन्ने उदाहरण फलेवास नगरपालिका–४, मुडिकुवाका वडा अध्यक्ष अच्युत तिवारीले प्रस्तुत गरेका छन् । वडा अध्यक्ष तिवारीले आफूले प्राप्त गर्दै आएको सेवा–सुविधाको रकमबाट सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
जनप्रतिनिधिले स्थानीय तहबाट अनावश्यक सुविधा लिने गरेको गुनासा आइरहेका बेला सरकारले तोकेको सुविधा पनि वडा अध्यक्ष तिवारीले सामाजिक काममा खर्च गर्दै आएका छन् । वडा अध्यक्ष तिवारीले आफुले मासिक २४ हजार दुई सय रुपैयाँ पाउने गरेको र १० प्रतिशत पार्टीलाई बुझाएर रहेको बाँकी रकम सामाजिक काममा खर्च गर्दै आएको बताए । नेपाली काँग्रेस पर्वतका सहसचिव रहेका तिवारीले विभिन्न आमा समुह, अपांगता भएका ब्यक्ति, बिरामी, पढ्न नपाएका बालबालिकालगायतका क्षेत्रमा आफुले पाउने पारिश्रमिक खर्च गर्दै आएका छन् ।
यसैबिच तिवारीले एक कार्यक्रमको आयोजना गरी फलेबास ४ अन्र्तगत रहेका तीन वटा आमा समुहलाई प्रति समुह १० हजार र एक अपांगता भएका ब्यक्तिलाई चार हजार रुपैयाँ प्रदान गरे । कार्यक्रममा वडाका विभिन्न कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान पनि गरे । त्यस्तै, वडाका नौ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको तिवारीले जानकारी दिए । उनका अनुसार सामाजिक गतिविधिमा करिब एक लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ ।
“मैले पाउने सेवा–सुविधा जनताकै करबाट जुटेको रकम हो । त्यसैले सकेसम्म जनताकै हितमा खर्च गर्ने प्रयास गरेको छु,” तिवारीले भने । उनले वडा कर्मचारी, स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा अपाङ्गता भएका व्यक्तिहरू समाजका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सम्मान र सहयोगले थप जिम्मेवारीबोध तथा उत्साह बढ्ने विश्वास व्यक्त गरे ।
२०७९ सालको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित उनी आफ्नै वडामा मात्र सीमित नभई जिल्लाका विभिन्न स्थानमा समस्यामा परेका नागरिकलाई समेत सहयोग गर्दै आएका छन् । जनप्रतिनिधिले पाउने सेवा–सुविधाको पारदर्शिता र सदुपयोगबारे बहस भइरहेका बेला तिवारीको यो पहललाई सामाजिक उत्तरदायित्वसँग जोडेर हेर्न सकिन्छ । जनप्रतिनिधिले राज्यबाट प्राप्त गर्ने सुविधा जनताको सेवामै फर्काउने अभ्यासले स्थानीय तहप्रति नागरिकको विश्वास बढाउन समेत सहयोग पुग्ने देखिन्छ ।
आफुले पाउने सेवा सुविधा निरन्तर सामाजिक काममा खर्चदै वडाअध्यक्ष तिवारी


