पर्वत /विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाको गाउँसभामा अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा चालु आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गरेका थिए। त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारी ले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४६ करोड ४५ लाख ३५ हजार ९ सय ९८ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल पश्चात् सर्वसम्मत रूपमा पारित गरिएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने तथा जनअपेक्षाअनुसारका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
अध्यक्ष गुरुङले सीमित स्रोत–साधनका बाबजुद पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, सुशासन तथा रोजगारी सिर्जनामा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभयो। उहाँका अनुसार जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा स्थानीयबासीबीचको सहकार्यका कारण विहादीमा विकासका बहुआयामिक कार्यहरू सफलतापूर्वक अघि बढेका छन्।
सडक र पुल निर्माणमा उल्लेखनीय प्रगति
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत विहादी खण्डको करिब १८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। सेतीखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै स्थानीयबासीको यात्रा सहज बनेको छ।
त्यसैगरी खहरेखोला–रानीपानी–बहाकीभञ्ज्याङ–हुवास सडक, बाच्छाखोला–उपल्लो बाच्छा सडक, बहाकीभ¥याङ–उरामपोखरा सडक, चर्काङ–छछन्ने–सेतीवेणी धार्मिक सडक लगायतका सडक आयोजनाहरू निर्माण तथा स्तरोन्नतिको चरणमा रहेका छन्।
कालीगण्डकी नदीमाथि गुल्मी जिल्लासँग जोड्ने मोटरेबल पुल निर्माण सम्पन्न भएको छ भने उराम–बेउलीबास जोड्ने पुलले वर्षायामको यातायातलाई सहज बनाएको छ। गुल्मीसँग सम्बन्ध विस्तार गर्ने विभिन्न झोलुङ्गे पुलहरू पनि निर्माण सम्पन्न भएका छन्।
कृषि र पशुपालनमा आधुनिक प्रविधि
कृषि उत्पादन वृद्धि गर्न आइपिएम कृषि पाठशाला, टनेल खेती, हाईटेक टनेल, कृषि एम्बुलेन्स लगायतका कार्यक्रम सञ्चालन गरिएको छ। कृषकलाई धान, गहुँ, मकै, तरकारीका बीउ तथा फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको छ।
कृषिमा आधुनिकीकरण ल्याउन मिनिटिलर, कुटानी–पिसानी मिल, चाप कटर तथा दाना बनाउने मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ।
पशुपालनतर्फ दुध ढुवानी अनुदान, उन्नत गाईभैंसी खरिद अनुदान, भकारो सुधार, हलगोरु पाल्ने कृषकलाई सहयोग तथा निःशुल्क पशु स्वास्थ्य सेवा सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा सुधार
गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै दुई विद्यालय मर्ज तथा चार विद्यालयको कक्षा डाउनसाइज गरिएको छ। कक्षा ८ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था, प्रविधिमैत्री शिक्षा, अतिरिक्त खेलकुद तथा शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालनमा छन्।
युवालाई सरकारी सेवामा आकर्षित गर्न निःशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षासमेत सञ्चालन गरिएको छ।
स्वास्थ्य सेवामा पहुँच विस्तार
गाउँपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकीमार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको छ। पालिका अस्पताल भवन निर्माणाधीन अवस्थामा रहेको छ।
गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम, आँखा उपचार केन्द्र सञ्चालन, स्वास्थ्य संस्थाको डिजिटलाइजेशन तथा कुपोषित बालबालिकाको उपचार कार्यक्रम सञ्चालन भइरहेको छ।
पर्यटन र धार्मिक सम्पदाको संरक्षण
विश्वकै ठूलो शालिग्राम शिला रहेको विहादी गाउँपालिका धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। वडा नम्बर ६ सेतीवेणीस्थित उक्त शिला दर्शनका लागि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भइरहेका छन्।
साथै शीतल गुफा, रम्भादेवी मन्दिर, लुरिङकोट मन्दिर, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, कोट मन्दिर, रानीपानी गुफा लगायत धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनमा गाउँपालिकाले विशेष ध्यान दिएको छ।
वडा नम्बर ५ लुङरिङ डाँडामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भइसकेको छ भने सामुदायिक होमस्टे कार्यक्रममार्फत ग्रामीण पर्यटन प्रवर्द्धन भइरहेको छ।
सीप विकास र रोजगारी सिर्जना
गाउँपालिकाले उद्घोषणकला, होजियारी, बेकरी, बाँसजन्य सामग्री उत्पादन, आरन सुधार, डकर्मी, इलेक्ट्रिसियन, साबुन, अगरबत्ती, मैनबत्ती, हर्पिक तथा टुथपिक उत्पादनसम्बन्धी विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ।
रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति आवेदनमा सहजीकरण तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिएको छ।
सुशासन र डिजिटल सेवा
गाउँपालिकाले डिजिटल भिलेज प्रोफाइल, डिजिटल नागरिक बडापत्र, आवधिक योजना तथा मध्यकालीन खर्च संरचना निर्माण गरी सुशासनलाई सुदृढ बनाएको छ। सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ भने मुख्य चोक र बजार क्षेत्रमा सिसिटिभी तथा सडकबत्ती जडान गरिएको छ।
‘भूमि बैंक’ मार्फत कृषि क्रान्तिको तयारी
बाँझो जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले ‘भूमि बैंक’ अवधारणा अघि सारेको छ। अध्यक्ष गुरुङका अनुसार यसले कृषि उत्पादन, रोजगारी र आम्दानी वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समृद्ध विहादीको यात्रामा
गाउँसभामा अध्यक्ष गुरुङले विहादीको विकास यात्रा सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै कृषि, पर्यटन, पशुपालन, साना उद्यम र पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाएर गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य रहेको बताउनुभयो।
“प्राकृतिक सौन्दर्य, उर्वर भूमि, धार्मिक सम्पदा र मेहनती नागरिक विहादीका सबैभन्दा ठूला सम्पत्ति हुन्। यी सम्पत्तिको सही उपयोग गर्न सके विहादी निकट भविष्यमा गण्डकी प्रदेशकै उदाहरणीय स्थानीय तह बन्नेछ,” अध्यक्ष गुरुङले भन्नुभयो।
“समुन्नत विहादी, सम्मानित विहादीबासी” भन्ने नारासहित गाउँपालिका समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेको उहाँको भनाइ छ।


