spot_img

पैयूँ गाउँपालिकाले ल्यायो ४२ करोड ७१ लाखको बजेट

पर्वत/पर्वतको पैयूँ गाउँपालिकाको १८औँ गाउँ अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ७१ लाख ६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ३२ करोड ३८ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेट अन्तर्गत कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि ८ करोड ३४ लाख ५२ हजार रुपैयाँ, गाउँपालिका स्तरीय पूर्वाधार विकासका लागि ४ करोड ६१ लाख १७ हजार रुपैयाँ तथा वडागत बजेटका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ।
सामाजिक विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले २ करोड २४ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये शिक्षाका लागि १ करोड ४३ लाख २२ हजार रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि ८१ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ।
कृषि तथा पशु सेवा विकासका लागि क्रमशः ३० लाख रुपैयाँ र ९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने आर्थिक विकासतर्फ ३९ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।
त्यसैगरी वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि २५ लाख रुपैयाँ, संस्थागत विकास तथा सुशासनतर्फ १४ लाख ३० हजार रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि ६ लाख ८० हजार रुपैयाँ, न्यायिक समितिका लागि ६ लाख रुपैयाँ तथा सहकारी संस्था नियमनका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले प्रस्तुत नीति, कार्यक्रम र बजेटले पैयूँ गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकको आर्थिक जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना, पूर्वाधार विकास, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई आगामी वर्ष थप प्राथमिकता दिइने बताए।
spot_img

भर्खरै