spot_img

फलेवास नगरपालिकाको बजेट : कृषि, पर्यटन र पूर्वाधारमा जोड

पर्वत/ पर्वतको फलेवास नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ६९ करोड ३ लाख १२ हजार रुपैयाँ बराबरकाे बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख शोभाकुमारी क्षेत्रीले बजेट प्रस्तुत गरेकी हुन्।
प्रस्तुत बजेटमध्ये चालुतर्फ रु. ५४ करोड ८९ लाख २ हजार रुपैयाँ (७९.५२ प्रतिशत) र पुँजीगततर्फ रु. १४ करोड १४ लाख १० हजार रुपैयाँ (२०.४८ प्रतिशत) विनियोजन गरिएको छ।
नगरपालिकाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक विकासतर्फ रु. ३ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसअन्तर्गत कृषि क्षेत्रमा रु. १ करोड ४७ लाख, पशुपन्छी विकासमा रु. ५७ लाख, पर्यटन प्रवर्द्धनमा रु. ५४ लाख तथा उद्योग र रोजगारी कार्यक्रमका लागि छुट्टाछुट्टै बजेट व्यवस्था गरिएको उपप्रमुख क्षेत्रीले जानकारी दिइन्।
कृषि उत्पादन वृद्धि, यान्त्रीकीकरण, सिँचाइ विस्तार तथा कृषि उपजको बजारीकरणलाई प्राथमिकता दिइएको छ। कृषि यान्त्रीकीकरणका लागि रु. ४० लाख तथा साना सिँचाइ कार्यक्रमका लागि रु. ६५ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ।
सामाजिक विकासतर्फ सबैभन्दा बढी रु. ४० करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ। यसमध्ये शिक्षाका लागि रु. ३२ करोड २९ लाख र स्वास्थ्य क्षेत्रका लागि रु. ७ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ। विद्यालयमा दिवा खाजा, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शैक्षिक गुणस्तर सुधार तथा स्वास्थ्य संस्थाको सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
पूर्वाधार विकासतर्फ रु. १४ करोड १४ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, वडा कार्यालय भवन निर्माण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गंगाधर तिवारीले “कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार : फलेवासीको समृद्धिको आधार” भन्ने मूल नारालाई अघि सारेका छन्। नीति तथा कार्यक्रममा सुशासन, सेवा प्रवाहको सरलीकरण, डिजिटल प्रविधिको प्रयोग तथा नागरिकमैत्री प्रशासनलाई विशेष प्राथमिकता दिइएको छ।
पर्यटन क्षेत्रको विकासका लागि मोदीवेणी, ठहरे, चिसापानी, पङ्कोट, सातमुले बराहलगायत धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। केबलकार, पदमार्ग, होमस्टे तथा एग्रो–टुरिजमको सम्भाव्यता अध्ययन गरी पर्यटन पूर्वाधार विस्तार गर्ने नीति नगरपालिकाले लिएको छ।
त्यस्तै कृषि क्षेत्रलाई व्यावसायिक, यान्त्रिक र बजारमुखी बनाउने, मकै, धान, फलफूल, अलैँची, अदुवा, कफी, चिया तथा जडीबुटी उत्पादन प्रवर्द्धन गर्ने, किसान वर्गीकरण, मौरीपालन, सिँचाइ विस्तार र बाँझो जमिनको उपयोगलाई प्राथमिकता दिइने भएको छ।
स्वास्थ्यतर्फ नगर अस्पताल सञ्चालन, स्वास्थ्य बीमाको पहुँच विस्तार, ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण तथा मातृ–शिशु स्वास्थ्य सेवाको सुदृढीकरणमार्फत सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
spot_img

भर्खरै