spot_img

कुश्मा नगरपालिकाले ल्यायो नीति, कार्यक्रम र बजेट, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता

पर्वत, कुश्मा नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट सर्बसम्मत पारित भएको छ । १३औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ९० करोड रुपैयाँ बराबरको बजेटसहित नीति, कार्यक्रम पारित गरेको हो । नगर अधिवेशनमा नगर प्रमुख रामचन्द्र जोशीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
उक्त नीति तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित भएको हो । नीति तथा कार्यक्रममा नगरपालिकाले लिने प्राथमिकताका बारेमा उल्लेख गरिएको छ । आर्थिक पारदर्शिता र सुशासनमा जोड दिदै नगर प्रमुख जोशीले बेरुजु न्यूनिकरणलाई प्राथमिकता दिइएको बताउनुभयो । स्थानीय स्रोतसाधनको परिचालनको माध्यमबाट गरिबी निवारण र स्वरोजगारी सृजनामा नीति तथा कार्यक्रमले जोड दिने जोशीले उल्लेख गर्नुभयो । उहाँले पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, स्वरोजगारक्षेत्रका प्राथमिकताहरु उल्लेख गर्दै सीमित स्रोतसाधनले अधिकतम क्षेत्र समेट्ने तयारी नगरपालिकाले गरेको जानकारी दिनुभयो ।

नगर अधिवेशनमा नगर उपप्रमुख स्वस्थानी रिजालले ८९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै समृद्ध र सुन्दर कुश्मा निर्माणलाई केन्द्रमा राखेर योजना अघि सारिएको जानकारी दिनुभयो । प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३.२५ प्रतिशत र पुँजीगततर्फ ४६.७५ प्रतिशत रकम विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको छ ।
भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड रुपैयाँ छुट्याइएको छ भने वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत कटुवाचौपारी–मल्लाज–देउराली लिफ्ट खानेपानी आयोजनाका लागि १ करोड रुपैयाँ व्यवस्था गरिएको छ । कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण तथा प्लास्टिक टनेल विस्तार कार्यक्रमका लागि १ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

शिक्षातर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न २५ लाख रुपैयाँ, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणका लागि १३ लाख ५८ हजार रुपैयाँ तथा दिवा खाजा कार्यक्रमका लागि ७३ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा सुशासनलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम सञ्चालन गर्नेगरी बजेट आएको प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिनुभयो ।

spot_img

भर्खरै