पर्वत/कुश्मा नगरपालिकाले नगरभित्र लुकेर रहेका तथा हालसम्म पहिचान हुन नसकेका क्षयरोगीको खोजीका लागि क्षयरोग खोजपडताल कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आगामी आइतबार एआई प्रविधिको प्रयोगमार्फत सम्भावित क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाका अनुसार समुदायमा अझै पनि धेरै व्यक्तिमा क्षयरोगको लक्षण देखिए पनि परीक्षण र उपचारको पहुँचमा नआएका कारण रोग लुकेर बस्ने अवस्था रहेको छ । यस्ता सम्भावित बिरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउने उद्देश्यले खोजपडताल कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाले बुधबार नगरभित्र रहेका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा एआई प्रविधिमार्फत कसरी सम्भावित क्षयरोगी पहिचान गर्ने, बिरामीको प्रारम्भिक अवस्था कसरी मूल्याङ्कन गर्ने तथा समुदायस्तरमा जनचेतना कसरी फैलाउने भन्ने विषयमा जानकारी गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले क्षयरोग अझै पनि जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहेको बताउनुभयो । उहाँले समयमै रोग पहिचान गरी उपचारमा ल्याउन सके क्षयरोग नियन्त्रण सम्भव हुने उल्लेख गर्दै अभियानलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यसैगरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले समुदायमा लुकेर रहेका क्षयरोगी पहिचान गर्न खोजपडताल अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेषगरी लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने तथा अत्यधिक पसिना आउने जस्ता लक्षण भएका व्यक्तिहरूलाई परीक्षणमा ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रम संयोजक आश्रिता सुवेदीले जिल्लामा रहेको क्षयरोगको अवस्था, जोखिम तथा अभियान सञ्चालन प्रक्रिया सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले एआई प्रविधिको प्रयोगले सम्भावित बिरामीको पहिचान छिटो र प्रभावकारी रूपमा गर्न सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाले सञ्चालन गर्न लागेको अभियानबाट नगरभित्र रहेका लुकेका क्षयरोगी पहिचान भई समयमै उपचारमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल कुश्मा नगरपालिकामा १३ पुरुष र १० जना महिला गरी २३ जना क्षयरोगीले नियमित औषधीसेवन गर्दै आइरहेका छन् ।
सक्रिय क्षयरोगी खोज्न कुश्मा नगरपालिकाको खोजपड्ताल


