पर्वत/‘आँखा जाँचिदिनु हजुर, राम्रोसंग देँख्न सकिन’ बिहादी–४ वहाकीका ७७ बर्षिय जयनारायण भुसालले मंगलबार आँखा उपचार केन्द्र वहाकीमा नेत्र सहायक नम्रता त्रिपाठीसमक्ष भन्नुभयो । त्रिपाठीले आँखा जाँच गर्दै भन्नुभयो–‘बुवा हजुरको दुवै आँखामा मोतियाबिन्दु भएको छ । अप्रेसन गर्नुपर्छ ।’
भुसालले आँखाले धमिलो देँख्न थालेपछि स्वास्थ्य चौकी आएको र यही आँखाको अवस्थाको बारेमा गाउँमै जानकारी लिन पाएकोमा गाउँपालिकालाई धन्यबाद दिनुभयो । जयनारायण मात्रै होइन, बिहादी, पैयूँ तथा बागलुङको दक्षिण तथा गुल्मीको पुर्तिघाट क्षेत्रका बासिन्दालाई समेत बिहादीको वहाकीमा स्थापना गरिएको आँखा उपचार केन्द्रले निकै राहत दिएको छ । ०८१ फागुन ११ गते वहाकी स्वास्थ्य चौकीको मातहत रहनेगरी स्थापना गरिएको आँखा उपचार केन्द्रमा आर्थिक बर्ष ०८१/८२ मा दुई सय १८ जनाले सेवा लिएका थिए । त्यसैगरी आर्थिक बर्ष ०८२/८३ मा हालसम्म एक सय ९६ जनाले सेवा लिएको वहाकी स्वास्थ्य चौकीका इन्चार्ज सुनिल कोहारले जानकारी दिनुभयो ।
पर्वत जिल्लामै प्रदेश अस्पताल कुश्माबाहेक अन्य पालिकामा आँखा उपचार केन्द्र नभइरहेको सन्दर्भमा बिहादी गाउँपालिकाले आफै स्वास्थ्यकर्मी ब्यवस्थापन गरी आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको बिहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । आँखाका बिरामीको अवस्थाका बारेमा अध्यक्ष परबिन गुरुङलाई जानकारी गराएपछि गुरुङले पालिकाबाटै स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्न प्रक्रिया थालेको पनि भुसालले बताउनुभयो ।
‘पर्वतको दक्षिण भेगमै आखा उपचार केन्द्र नभएको अवस्थामा बिहादीमा आखा उपचार केन्द्र स्थापना गर्नुपर्छ भनेर गाउँपालिकाले स्वास्थ्यकर्मी ब्यवस्थापन मिलाएर आखा उपचार केन्द्र स्थापना गरेको हो’ तत्कालिन प्रमुख प्रशासकिय अधिकृत भुसालले भन्नुभयो–‘अध्यक्षज्युको निर्देशनबमोजिम केन्द्र सञ्चालनमा ल्याएका हौ ।’ भुसालकाअनुसार आँखा उपचार केन्द्रमा बिहादीका साथै पैयूँ, गुल्मी र बागलुङको केही भागलाई समेत सुविधा मिलेको छ ।
बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले आँखाजस्तो संबेदनशिल अंगको छिटो उपचार हुनुपर्छ भनेर नै गाउँपालिकाको सक्रियतामा आँखा उपचार केन्द्र स्थापना गरेको जानकारी दिनुभयो । आँखा उपचार केन्द्र स्थापनाका लागि हिमालयन आँखा अस्पताल पोखराले आवश्यक उपकरणलगायतका सामाग्री उपलब्ध गराएको छ । ‘कर्मचारी र स्थानिय ब्यवस्थापन बिहादी गाउँपालिकाले मिलाएको हो, उपकरणलगायतका सामाग्री हिमालयन आँखा अस्पतालले सहयोग गरेर आखा उपचार केन्द्र स्थापना गरेका हौ’ बिहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले भन्नुभयो । आँखाका बिरामीलाई औषधी पनि गाउँपालिकाले सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ ।
पालिकामै आँखा उपचार केन्द्र खुलेपछि बिहादीबासी खुशी


