पर्वत/पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर–७ राम्जाका १५ वर्षीय विपिन गौतम घर फर्किएका छन् । सोमबार बाख्रा चराउन जादा उनी जङ्गलबाट बेपत्ता भएका थिए । सोमबार मध्यान्ह आफ्नै दाजु र हजुरआमाको साथमा घरबाट करिब एक घण्टाको दूरीमा रहेको पतेनीको बन तथा जरे खोलाको आसपासमा बाख्रा चराइरहेका उनी अचानक बेपत्ता भएका थिए ।
स्थानीय सुरेन्द्र शर्मा गौतमले विपिन आफै मंगलबार अपरान्ह घर फर्किएको बताए । व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेको परिवारले बाख्रा चराउने गरेकाले विपिन र उनका दाजु पनि परिवारका सदस्यको साथमा जङ्गल र खोला क्षेत्रमा जाने गरेका छन् । बिपिन बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र आफन्तले हराएको क्षेत्रको जङ्गलमा रातभर खोजी गरेका थिए । बिपिनका दाजु कक्षा १२ मा अध्ययनरत छन् । उनका बुबा प्रकाश गौतम सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।


