spot_img

विहादी गाउँपालिकामा दोश्रो अध्यक्ष कप सुरु, उद्योग तथा पर्यटनमन्त्रीद्धारा शुभारम्भ

पर्वत/विहादी गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप प्रतियोगीता सुरु भएको छ । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । बिहादी गाउँपालिका वडा नम्बर ४ स्थित सापचौर खेलमैदानमा आयोजित प्रतियोगितालाई उद्घाटन गर्दै मन्त्री रिमालले राष्ट्र, प्रदेश र पालिकाको पहिचान खेलले दिनसक्ने भन्दै यस्ता प्रतियोगिताबाट खेलाडीहरु उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । मन्त्री भएपछि आफ्नो पहिलो कार्यक्रम बिहादी गाउँपालिकाले गरेको अध्यक्ष कपको उद्घाटन समारोह भएकोमा खुशी ब्यक्त गर्दै मन्त्री रिमालले बिहादीको समस्या र आफुले गर्न सक्ने काम उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष एवम् युवा नेता परविन गुरुङले बिहादीले वडा तहदेखि नै खेलाडी उत्पादन गर्नेगरी खेलक्षेत्रमा प्राथमिकता दिएको बताउनुभयो । अध्यक्ष कपले युवाहरुलाई खेलक्षेत्रमा लाग्न अभिप्रेरित गरिरहेको धारणा पनि अध्यक्ष गुरुङले राख्नुभयो । धुलोबाट खेलाडीले राष्ट्रिय जर्सी लगाएर निस्कनका लागि यस्ता प्रतियोगिताले भुमिका खेल्ने पनि अध्यक्ष गुरुङले बताउनुभयो । खेलकुटमार्फत सबै मिलेर बिहादीको समृद्धिमा भुमिका खेल्न र खेलाडीलाई उत्कृष्ट मनोभावनाका साथ खेल्न पनि अध्यक्ष गुरुङले आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष गुरुङले मन्त्री रिमाललाई बिहादीमा धेरै पर्यटकीय र धार्मिक क्षेत्र रहेकोले त्यसको प्रचारप्रसार र विकासमा नजर लगाइदिन आग्रह गर्नुभएको थियो ।

बिहादी गाउँपालिकाका उपाध्यक्ष मिना शर्मा तिवारीले बिहादी गाउँपालिकाले पालिकाको विकास र समृद्धिका रुपमा खेलकुदलाई पनि प्राथमिकता दिएर अगाडी बढेको बताउनुभयो । कार्यक्रममा बिहादी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णुप्रसाद भुसाल, नेपाली काँग्रेस पर्वतका सहसचित तिलक भुसाल, रास्वपा बिहादीका सभापति सुशिल गिरी, नेकपा एमाले बिहादीका अध्यक्ष दुर्गा भुसाल, नेपाली कम्युनिष्ट पार्टी बिहादीका अध्यक्ष ऋषि भुसाललगायतले बोल्नुभएको थियो । बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन बिहादी गाउँपालिकाका रोजगार संयोजक हिमलाल गिरीले गर्नुभएको थियो । अध्यक्ष कपमा वडास्तरीय पुरुष भलिबल, महिला भलिबल र क्रिकेट प्रतियोगिता राखिएको छ । प्रतियोगिता बैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा गाउँपालिकाको पहिचानसंग जोडिएको गाउँपालिकाको लोगो र २०८३ सालको भित्तेपात्रो पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न झाकी, बाजा, विभिन्न बिद्यालय, आमा समुहका नृत्यसमेत प्रस्तुत गरिएको थियो । यसैबिच अध्यक्ष परविन गुरुङले बिहादीको पहिचानका रुपमा रहेको सापचौर खेलमैदानको प्रवेशद्धारको उद्घाटन गर्नुभएको छ ।

spot_img

भर्खरै