spot_img

बन्यो फलेवास नगरपालिकाको प्रशासकीय भवन

पर्वत/फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिका वडा नं. ५ खानीगाउँ झकलकमा निर्माण गरिएको उक्त भवन अब छिट्टै औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

भवन निर्माणका लागि जुम्ले थान एण्ड आचार्य विल्डर्स प्रा.लि बागलुङसँग ९ करोड २ लाख रुपैयाँ लागतमा २०७८ भदौमा सम्झौता गरिएको थियो । सुरुमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि विभिन्न कारणले काममा ढिलाई हुँदै गएको थियो । पटक–पटक म्याद थप गदै अन्तत ः भवन निर्माण कार्य सम्पन्न भएको हो ।

नगरपालिकाका इन्जिनियर प्रविन गौत्तमका अनुसार भवनको सबै भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । ‘भवनमा फिनिसिङ, झ्याल–ढोका जडान र रङरोगन फर्निसिङका काम सक्किसकेको र विद्युत जडानको काम बाँकी रहेको छ,’ इन्जिनियर गौत्तमले भन्नुभयो,‘‘बाँकी रहेको काम हप्ता १० दिनमा सकिन्न्छ ।’’ यो भवन संघीय सरकारको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत नगरपालिकाको बजेटबाट निर्माण गरिएको हो ।

भवनमा महिला स्थानपान कक्ष सहित ४२ वटा कोठा हुनेछन् । नयाँ भवन अभावका कारण नगरपालिकाकाले लामो समयदेखि अस्थायी संरचनाबाट निर्माण गरिएको साँघुरो र पुरानो भवनबाट सेवा सञ्चालन गदै आएको थियो । जसका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो ।

नगरपालिकाका मेयर गंगाधर तिवारीले निर्माणमा ढिलाइ भए पनि अन्ततः भवन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताउनु भयो । उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीको लापरबाहीका कारण तोकिएको समयमा भवन सम्पन्न हुन सकेन । तर नगरपालिकाले निरन्तर दबाब र समन्वय गर्दै कामलाई अन्तिम चरणसम्म पु¥यायो । अब नयाँ भवनबाट सेवा सञ्चालन भएपछि नागरिकले सहज रूपमा सेवा पाउनेछन् ।”
भवन निर्माणका लागि आवश्यक ६० रोपनी ८ आना जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । नयाँ भवन सञ्चालनमा आएपछि नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ ।

 

spot_img

भर्खरै