spot_img

खौलालाँकुरी पोखरा सम्पर्क समाजको अधिवेशन नगर प्रमुख जाेशीद्वारा उदघाटन, अध्यक्षमा शर्मा

पर्वत/ खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा लालप्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् । शनिवार सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले शर्माको अध्यक्षमा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रबहादुर खत्री, उपाध्यक्षमा प्रेम सुवेदी, सचिवमा गंगाकुमारी कार्की, कोषाध्यक्षमा कुमार सुनार र सहसचिवमा प्रदीप चालिसे चुनिए । यसैगरी सदस्यहरुमा सरस्वती गोतामे सुवेदी, टीकाराम विश्वकर्मा, भानुभक्त सुवेदी, लिलबहादुर कुँवर, सरस्वती परियार, रामप्रसाद चापागाईं, रन्जित केसी, प्रदीप सुवेदी, सरस्वती शर्मा चालिसे, अनिल सुवेदी र शिवप्रसाद सापकोटा रहेका छन् ।

समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीबाट पोखरामा आई स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुको एक सामाजिक संस्था हो । २०७६ सालमा स्थापना भएको समाजले पोखरा र आफ्नो जन्मथलो खौलालाँकुरीमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सरकारले गर्नुपर्ने कतिपय कामहरु यस्ता समाजहरुले गरेको भन्दै खुशी व्यक्त गरे । पेशा, व्यवसायका लागि जन्मथलो छाडेर पोखरामा आई बसे पनि एकापसमा सुखदुख साट्ने र जन्मस्थानलाई पनि सम्झने एउटा माध्ययम समाज बनेको भन्दै उनले खौलालाँकुरी पोखरा सम्पर्क समाजको कामबाट आफु प्रभावित भएको बताए । ‘तपाइँहरुले गरेको कामको जस नगरपालिकाले पनि लिन पाएको छ’, नगरप्रमुख जोशीले भने, ‘यस्तो सामाजिक संस्थामा कुनैपनि प्रकारको राजनीति हुनुहुदैन, राजनीति भएमा संस्था ध्वस्त हुन्छ ।’ उनले सिमित स्रोत साधनका कारण चाहेजति विकास गर्न नसकिएको र विकास निर्माणका काम चुस्त रुपमा अघि नबढ्नुमा हाम्रो विकासको नीति नै बेठिक होकी भन्ने पनि सोच्नुपर्ने बेला आएको बताए ।

कुश्मा–१३ खौलालाँकुरीका वडाध्यक्ष तेजप्रसाद शर्माले समाजको कामको प्रशंसा गरे । साथै वडाको विकास निर्माणको विषयमा पनि उनले बताएका थिए । कुश्मा नगरपालिका स्वास्थ्य शाखा प्रमुख यामप्रसाद शर्माले समाजले आफ्नो योजना जन्मथलोमा स्वास्थ्य शिविर र नियमित रक्तदानको कार्यक्रम राखेकोमा खुशी व्यक्त गरे ।  कार्यक्रममा संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्री, पूर्व अध्यक्ष एवं सल्लाहकार धर्मबहादुर केसी, पूर्व सल्लाहकार हर्कबहादुर कार्की क्षेत्री, पर्वत ठूलीपोखरी पोखरा सम्पर्क समाजका अध्यक्ष ठाकुर प्रसाद सुवेदी, बिचारी चौतारा–पोखरा विकास समाजका अध्यक्ष उमाकान्त पौडेल, थापाठाना पोखरा सम्पर्क समाजका अध्यक्ष श्यामबहादुर थापा, कार्कीनेटा पोृखरा सम्पर्क समाज पोखराका सचिव शेषकान्त शर्माले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा ८० वर्ष पुग्नु भएका ज्येष्ठ नागरिकहरु सुमित्रा सुवेदी, दत्तकुमारी चपाईं र तिर्थकुमारी क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल र भारतमा रोहिंग्या शरणार्थीबारे हालैमात्र विद्यावारिधी (पिएचडी) गर्नु भएका हिराबहादुर कार्की, चिकित्सक डा. कैलाश क्षेत्रीलाई पनि विशेष सम्मान गरिएको थियो । यसका साथै विभिन्न विषयमा स्नात्तकोत्तर उत्तीर्ण सिम्रन विश्वकर्मा, सुजिता विक, खगराज सुवेदी र प्रियंका जिसी थापा, स्नातक उत्तीर्णहरु यशोदा पौडेल, समिर केसी, मिलन केसी र आशिष सुवेदी प्लस टु उत्तीर्ण प्रमिला क्षेत्री र समीक्षा शर्मालाई पनि शैक्षिक सम्मानद्वारा सम्मानित गरिएको थियो ।

समाजका अध्यक्ष पिताम्बर पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रबहादुर खत्री र सञ्चालन प्रेम सुवेदीले गरेका थिए । साधारण सभाले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष कल्पनाकुमारी पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

spot_img

भर्खरै