spot_img

बिहादीमा भीरबाट ढुंगा खसेर हैरानी, ठेकेदारले लापरबाही गरेको आरोप

पर्वत/बिहादी गाउँपालिका वडा नम्बर ६ गोलाङस्थित सुसिलढुंगामा भीरबाट सडकमा ढुंगा खसेर दुर्घटनाको जोखिम बढाएको छ । कालीगण्डकी लोकमार्ग अन्र्तगतको सेतीबेणी–रानीपानी सडक अन्र्तगत पर्ने सुसिलढुंगामा दैनिक रुपमा भीरबाट ठुला/ठुला ढुंगासहित पहिरो जाने गरेको छ । लोकमार्गको कुमालगाउँदेखि सेतीबेणीसम्मको सडक निर्माणका लागि जलजला कन्ट्रक्सनले ठेक्का पाएको थियो । उक्त निर्माण कम्पनीले अनावश्यक रुपमा भीर च्यापेर कटिङ गरेको र पछिल्लो समयमा अलपत्र पारेर छाडेका कारण अहिले दैनिक रुपमा ढुंगा सडकमा खसिरहेको स्थानीयले बताएका छन् ।
ढुंगा खस्दा बाटोमा हिड्ने सवारीदेखि बटुवासम्म जुनसुकै बेला मानविय दुर्घटनामा पर्ने जोखिम देखिएको छ । बिहादी–६ शालिग्रामका शंकर पौडेलले ठेकेदारको लापरबाहीले सडकमा जोखिम बढाएको बताए । ‘ठेकेदारले आवश्यक भन्दा बढी भीर काटेर सामान थुपार्ने नियत राख्यो, बिचमै भीर पहिरोको जोखिम पारेर छाड्यो, अहिले न ठेकेदार आएर काम गरेको छ न ढुंगा खस्न रोकिएको छ’ उनले गुनासो गरे । उक्त सडकबाट शालिग्रामको गोलाङका स्थानीय खेतबारीमा जाने, घाँस, दाउरा, पानी लिन वारपार गर्ने गर्छन । तर दैनिक रुपमा ढुंगा खस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
‘यो सडक भएर हामी जतिबेला पनि हिँडडुल गर्नुपर्छ तर हालत यस्तो छ’ भीरबाट ढुंगा खस्दै गरेको देखाउँदै स्थानीय भगवानहरि पराजुलीले भने–‘ल हेर्नुस् अव हामीले कसरी वारपार गर्ने ?’ पराजुलीले पनि छिटो भन्दा छिटो ठेकेदारलाई ल्याएर समस्या समाधान गरी सडक छिटो निर्माण हुने ब्यवस्था मिलाउन माग गरे ।
बिहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले भीरबाट ठुला÷ठुला ढुंगा खस्ने समस्या आफ्नै आँखाले देखेको र अहिले ठेकेदारको लापरबाहीले यो अवस्था आएको बताए । उनले आफुले ठेकेदार कम्पनीसंग सम्पर्क गर्ने प्रयासमा रहेपनि सम्पर्क नभएको पनि जानकारी दिए । ‘तत्काल आएर सडकको काम सुरु नगर्ने र अहिले देखिएको समस्या समाधान नगर्ने हो भने त्यसै छाडदैनौ’ गुरुङले भने ।
प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले कालीगण्डकी लोकमार्गअन्र्तगत सेतीबेणी–कुमालगाउँसम्मको सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको र गोलाङमा दैनिक भीरबाट ढुंगा खस्ने समस्या आएपछि आफुले लोकमार्गको सम्बन्धित कार्यालयमा ताकेता गरेको जानकारी दिए । ‘मैले समस्या बताएर ठेकेदार झिकाएर काममा लगाउन कालीगण्डकी करिडोर परियोजना कार्यालयमा धेरै पटक ताकेता गरे, टेरेका छैनन’ पर्वतका प्रजिअ सापकोटाले भने ।
उता जलजला कन्ट्रक्सनका प्रतिनिधि भुपराज खनालले भने केही दिनभित्रै आफुहरुले रोकिएको काम सुरु गर्ने दाबी गरे । ‘स्टक्चरको काम सकेका छौ, असारअगावै सबबेस बिछ्याएर हिलोमुक्त सडक बनाउछौ’ उनले भने–‘काम गरेबापत भुक्तानी नहुँदा केही समय काम गर्न नसकेकै हौ, अव केही दिनभित्रै धमाधम काम गर्छौ ।’ उनले सुसिलढुंगामा निर्माण कम्पनीका कारण ढुंगा खस्ने समस्या भने नभएको दाबी गरे । ‘हाम्रा कारणले ढुंगा खसेको होइन, त्यहाँ स्थानीयको निजि भीर रहेछ उहाँहरुले अर्कालाई ढुंगा बिक्री गरेर निकाल्न दिनुभएकै कारण अहिले समस्या आएको हो’ खनालले भने ।

spot_img

भर्खरै