पर्वत, फागुन १२–नेपाली काँग्रेसका नेता एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले अमेरिकी सहयोग परियोजना एमसिसिको बिरोध गर्नेहरु बिकास बिरोधी भएको बताउनुभएको छ । बिहादी–५ उरामकी नेपाली काँग्रेसको स्थानीय नेतृ चन्द्रकला थापाको निधन भएको १२ औ दिनमा वडा कार्य समितिले आयोजना गरेको शोक सभालाई सम्बोधन गर्दै जोशीले एमसिसिको बिरोध गर्नेहरु सबै विकास बिरोधी भएको दाबी गर्नुभएको हो ।
अमेरिकाले उक्त परियोजनामार्फत धेरै देशलाई सहयोग गरेको र ती देशहरुले राम्रो प्रगति गरेकोले एमसिसि नितान्त नेपालको ठुला बिद्युत प्रसारण लाइन र सडक निर्माणका लागि सहयोग रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘एमसिसिको बिषयमा जो जो ब्यक्ति र जुन÷जुन पार्टीले बिरोध गरेका छन्, ती विकास नचाहनेहरु हुन’ जोशीले भन्नुभयो–‘अनुदानमा पाएको रकम लिएर नेपालले ठुला सडक र बिद्युत प्रसारण लाइनमा तत्काल काम अगाडी बढाउनुपर्छ ।’ अहिले एमसिसिमा भन्दा पनि खतरनाक प्रावधान चीनले गरेका परियोजनामा रहेको भन्दै जोशीले एमसिसि नेपालको हीतमा रहेको स्पष्ट पार्नुभयो ।
एमसिसि अहिले भर्खर यो सरकारले सम्झौता नगरी पछिल्ला बाबुराम भट्टराई, पुष्पकमल दाहाल, केपी शर्मा ओली प्रधानमन्त्री हुँदाका बखत प्रक्रिया पुरा हुँदै आएको उहाँले जानकारी दिनुभयो । ‘एमसिसि अहिलेको सरकारले अहिले नै सम्झौता गरेर आएको होइन, आफु सरकारको नेतृत्व गर्दा एमसिसि ठीक मान्ने र सरकारको नेतृत्वमा नहुँदा बेठीक मानेर बिरोध गर्ने प्रबृत्ति गलत छ’ जोशीले भन्नुभयो । एमसिसिको बिषयमा कम्युनिष्टहरुले जनतालाई भ्रम छरिरहेकोले त्यस्तो भ्रममा नपर्न पनि जोशीले आग्रह गर्नुभयो ।
उहाँले चन्द्रकला थापाको निधनले पार्टीले एक सच्चा र इमान्दार कार्यकर्ता गुमाएको बताउनुभयो । चन्द्रकलाले सधै विकास निर्माणका साथै सामाजिक काममा चासो र चिन्ता राख्ने गरेको भन्दै जोशीले उहाँको बाटोलाई अनुसरण गरेमा मात्रै बास्तविक श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । थापाको २९ माघमा ६१ बर्षको उमेरमा निधन भएको थियो । थापा नेपाली काँग्रेसको ११ औ महाधिवेशनदेखि नै क्षेत्रीय प्रतिनिधि रहदै आउनुभएको थियो ।
नेपाली काँग्रेस बिहादी ५ का सभापति नरबहादुर क्षेत्रीको सभापतित्वमा भएको शोकसभामा नेपाली काँग्रेस पर्वतका उपसभापतिद्धय डा.चुडामणी शर्मा, शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस पर्वत प्रदेश सभा ख क्षेत्रीय कार्य समितिका सभापति परविन गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य टिकाराम भुसाल, चन्द्रकला थापाको छोरा टुकबहादुर थापालगायतले मन्तब्य राख्नुभएको थियो ।
एमसिसिको बिरोध गर्नेहरु विकास बिरोधी हुन : जोशी


