पर्वत/आफ्नो स्थापनाकालदेखि नै अन्य स्थानीय तहले भन्दा फरक ढंगले विभिन्न रचनात्मक कामहरू गर्दै आएको पर्वतको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र ज्यालादारीमा काम गर्ने मजदुरका लागि मजदुर सञ्चय कोष कार्यक्रम अघि सारेको छ । गाउँपालिकाको यो कार्यक्रम सम्भवतः स्थानीय तहस्तरबाट शुरूवात भएको मुलुकमै पहिलो कार्यक्रमका रूपमा लिइएको छ ।
गाउँपालिकाको शनिबार बसेको कार्यपालिका बैठकले समेत मजदुर सञ्चय कोष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको कार्यविधि तयार गरि पालिकाभित्रका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न मजदुरको लगत संकलन शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । ‘शुरूमा एकघर एक मजदुरलाई मात्रै यो कार्यक्रममा सहभागी गराइने छ र आर्थिक श्रोत खोजी यसको दायरा बढाएर सबै श्रमिकहरुलाई यो कार्यक्रममा सहभागी गराइने छ ।’- प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ।
जलजला गाउँपालिकाको कार्यपालिका बैठकले गाउँपालिकालाई नगरपालिकाको लागि प्रस्ताव गर्ने निर्णय समेत गरेको छभने प्रत्येक वडामा वाइफाइ लैजाने, सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गर्ने, गाउँपालिकाभित्र रहेको सार्वजनिक सम्पत्तिको लगत संकलन गरि त्यसको अधिकतम उपयोगमार्फत गाउँपालिकाको आन्तरिक आयलाई बलियो बनाउने र गाउँपालिकाको मुख्य आयश्रोतका रूपमा रहेको ढुङ्गा गिट्टी बालुवाको संकलन तथा विक्री वितरण प्रणालीलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको अध्यक्ष मल्लले वताउनु भयो । ढुङ्गा गिट्टी र बालुवाबाट मात्रै यो बर्ष गाउँपालिकामा एककरोड ६५ लाख रूपैयाँ राजश्व संकलन भएको वताइएको छ ।


