
पर्वत, मंसिर १८–नेपाली काँग्रेस पर्वतले तनहुँमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको धरपकड र दुब्र्यवहारप्रति आपत्ति जनाएको छ । पर्वत काँग्रेसका सभापति खिमप्रसाद भुसालले विज्ञप्ती प्रकाशित गरी आफ्नो बरिष्ठ नेतामाथि प्रहरी प्रशासनबाट नियन्त्रणमा लिएको घटनाले सरकारको नियत छर्लङग भएको भन्दै जुनसुकै बेला काँग्रेस सडकमा आउने चेतावनी दिएका छन् । उनले सरकार बिपक्षीलाई धरपकड गर्ने, दुब्र्यवहार गर्ने गर्दै अधिनायकबादी दिशामा अग्रसर भएकोले जुनसुकै बेला सडकमा आन्दोलन गर्नुपर्ने भएको हुँदा तयारी अवस्थामा बस्न पर्वतका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘बरिष्ठ नेतामाथिको धरपकड सहन सकिने बिषय होइन, यसले केपी ओली नेतृत्वको सरकारलाई महंगो पर्ने निश्चित भएको छ’ भुसालले भने ।


