पर्वत, मंसिर १८–नेपाली काँग्रेसका महासमिति सदस्य एवम जिपी कोइराला फाउण्डेसन पर्वतका अध्यक्ष बसन्तबहादुर सिकेले गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग गरेका छन् । कुश्मा नगरपालिका वडा नम्बर ४ मा रहेको पाठशालाई बुधबार आफ्ना स्वर्गिय छोरा विशालको स्मृति दिवसको सन्दर्भ पारेर सिके परिवारले सहयोग गरेको हो । पाठशालालाई १० हजार नगद, लत्ताकपडा र खाद्यान्न सहयोग गरेको सिकेले जानकारी दिए । ‘बुधबार स्वर्गिय छोरा विशालको स्मृति दिवस पारेर सहयोग प्रदान गरेको हुँ’ सिकेले भने–‘सनातन धर्मसंस्कृति हाम्रो धरोहर हो । यसलाई संरक्षण गर्नु हामी सबैको कर्तव्य भएकोले यस गुप्तेश्वर पाठशालाई सहयोग गरेका हौ ।’ २०५५ सालमा स्थापना भई निरन्तर रूपमा संस्कृत पठनपाठन गराउँदै आएको यस पाठशालामा २० जना बिद्यार्थी अध्ययनरत रहेका छन ।
बिश्वनै कोरोनाको महामारीले ठप्प भएको बेला समेत यो पाठशाला निरन्तररूपमा सन्चालनमा आएको प्राचार्य पद्मराम उपाध्यायले बताए। यहाँ अध्ययन गर्ने बिद्यार्थीहरु निशुल्क रुपमा छात्राबासमा बसेर अध्ययन गर्दै आइरहेका छन् । पर्वतको कुश्मामा अबस्थित यो पाठशालालाई पशूपति अन्नपूर्ण भण्डार काठमान्डौबाट निरन्तर खाद्यान्न सहयोग हुँदै आएको छ । पाठशाला आसपासका बस्तीहरूबाट मुठीदानको सहयोगबाट समेत चल्दै आएको यस पाठशाला, गायत्री मन्दीर तथा धर्मशालालाई बेलाबेलामा मनकारी व्यक्ति तथा संस्थाले सहयोग गर्दै आइरहेका छन् । पाठशालामा हाल तीन जनता सरकारी दरबन्दी र एक जना निजिस्रोतबाट गरी चार जना गुरुहरुले अध्यापन गराउदै आएका छन् । पाठशालामा अझैपनि बेलाबेला आर्थिक अभाब हुँदै आएको छ । पाठशालाका अध्यक्ष खडानन्द आचार्यले बाहिरबाट कहिलेकाही आउने सहयोगले निरन्तर रुपमा पाठशालाको खर्च धान्न समस्या हुँदै आएका बताए । पाठशालालाई सुदृढ बनाउने उद्देश्यले २०५३, २०६३ र २०६९ सालमा महायज्ञ समेत लगाई गायत्री मन्दिर र केही भौतिक संरचना निर्माण गरिएको थियो ।


