पर्वत, मंसिर १३–पर्वतका १८ हजार घरधुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिने भएको छ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् पर्वत प्रदेशसभा सदस्य पदका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीको सहयोगमा फलेबास, बिहादी, पैयूँ र महाशिलामा स्वास्थ्य सामाग्री बितरण सुरु भएको हो । शुक्रबार फलेबास–६ देविस्थानबाट स्वास्थ्य सामाग्री बितरण सुरु गरिएको तिवारीले जानकारी दिए । तिवारीले आफु निर्वाचन लडेको क्षेत्रका सबै घरधुरीलाई आवश्यक स्वास्थ्य सुरक्षित सामग्री वितरण गर्न सुरु गरेका हुन ।
‘कोभिड–१९ को संत्रास समुदायमा फैलिएको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि तिवारीले त्यहाँका १८ हजार घर धुरीलाई मास्क, स्थानिटाइजर र साबुन वितरण गर्न सुरु गरिएको हो’ उनले भने । जिल्लामा आउने विभिन्न समस्या समाधानमा केन्द्रीत रहँदै आएका तिवारीले व्यक्तिगत खर्चमा १० लाख बराबरको सुरक्षित स्वास्थ्य सामग्री वितरण गर्न सुरु गरेको बताए । शुक्रबार देबिस्थानका सात सय ६३ घरधुरीका लागि स्वास्थ्य सामाग्री बितरण गर्न वडा सभापति नारायण श्रेष्ठलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय प्रमुख अर्जुनप्रसाद जोशीले हस्तान्तरण गरे ।
सो अवसरमा काँग्रेस नेता जोशीले यत्रो कोभिडको महामारीमा पनि सरकारले जनतालाई राहत दिन नसकेको, कोभिडलाई नियन्त्रणमा राख्न नसकेको बताए । उनले सरकारले जनताकाप्रति बेवास्ता गरेपनि नेपाली काँग्रेसले क्षमताले भ्याएसम्म स्वास्थ्य सामाग्री बितरण, खाद्यान्न बितरण, अन्य आवश्यक बितरणलाई निरन्तरता दिदै आएको जानकारी दिए । देबिस्थानमा स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् सुचना तथा प्रचार विभागका केन्द्रीय सदस्य राधाकुमारी क्षेत्री, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, जिल्ला कार्य समिति एवम् यातायात समन्वय विभागका केन्द्रीय सदस्य शिवप्रसाद सुबेदी, नेपाली काँग्रेस फलेबासका सभापति हिरामणी सापकोटा, नेबिसंघका पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र गौडेल, नेपाल तरुण दल कुश्माका अध्यक्ष सुबर्ण अर्याल, फलेबासका अध्यक्ष दिनेश लामिछाने, नेपाल महिला संघ पर्वतका कावा अध्यक्ष मुना लामिछाने, नेपाल प्रेस युनियन पर्वतका सचिव साजन परियार, नेबिसंघ फलेबासका अध्यक्ष सन्तोष पाठकलगायत विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्था, वडा सभापतिहरुलगायतको उपस्थिति रहेको थियो ।
आज शनिवार खानीगाउँ, लिमिठना र बिहादी–१ बाच्छामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । फलेवास नगरपालिका सहित महाशिला, बिहादी र पैयु गाउँपालिका पर्वत प्रदेशसभा ख क्षेत्रमा पर्छ । तिन चरणमा उक्त क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गर्ने काँग्रेस नेता तिवारीले जानकारी दिए । अनुकुल मिलेको ठाउँमा स्वयम आफै उपस्थित भएर सामाग्री वितरण गर्ने र अनुकुल नभएको ठाउँमा वडा समिति, नेविसंघ, तरुण दल लगायत संघसंस्थामार्फत जनताका घरघरमा स्वास्थ्य सामग्री पु¥याउने तिवारीले बताए ।



