spot_img

देउराली घटनाको प्रजिअ र प्रहरी प्रमुखबाट स्थलगत अवलोकन

पर्वत, फागुन १४–मोदी गाउँपालिका वडा नम्बर ३ कुँडुलेमा सोमबार भएको घटनाको बिषयलाई समाधान गर्न प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, पर्वतका प्रहरी प्रमुख श्यामु अर्यालसहितले स्थलगत अवलोकन गरेका छन् । सोमबार कुँडुलेबाट बायटारीसम्मको झण्डै चार सय मिटर सडक जग्गादाताको सहमतिबिना डोजर लगाइएको थियो । त्यसमा बिवादले उग्र रुप लिएपछि वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीसहितले बिरोधमा आएका स्थानीयबासीलाई नियन्त्रणमा लिएर सडक खनेका थिए । सडक खन्ने क्रममा स्थानीय जग्गावाला डोजर अगाडी सुतेका थिए । उनीहरुलाई कुटपिट र लछारपछार गरेर सडक खनेको भन्दै स्थानीयले प्रशासनमा किटानी जाहेरी दिएका थिए । विवादको यथार्थ बुझेर समाधान खोज्नका लागि प्रजिअ घिमिरे, प्रहरी प्रमुख अर्याल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीसहितको टोली स्थलगत अवलोकनका लागि गएको थियो । पक्षकाले सडक मन्दिरसम्म लैजानका लागि आवश्यक भएकोले खनिएको बताएका छन् भने सडकको बिपक्षकाले बस्ती नै नभएको ठाउँमा अनावश्यक रुपमा जनताको जग्गामात्रै मास्नेगरी सडक खनिएको दाबी गरेका छन् ।

सडक खन्न रोक्ने क्रममा चोलानाथ शर्मा, हरिकला सुबेदी, हिरादेवी सुबेदी, बिमल शर्मामाथि कुटपिट भएको उनीहरुले बताएका छन् । चोलानाथ शर्मा जिल्ला अस्पतालपछि थप उपचारका लागि पोखरा गएका छन् । सोमबार दिउसो स्थानीयबासीको सहमतिबिना डोजर ल्याएर उनीहरुको जमिन जथाभावी रुपमा खनिएको दाबी असन्तुष्ट पक्षको छ । आफ्नो जग्गा खन्न रोक्ने क्रममा जग्गादातामाथि कुटपिट र लछारपछार भएको पनि उनीहरुले बताएका छन् । आफुहरुमाथि कुटपिट र लछारपछार भएको तथा शान्तिसंग बस्ने बाताबरण नभएको भन्दै उनीहरुले प्रशासनमा उजुरी दिएका थिए ।
कुडुलेसम्म सडक पुगेको छ । त्यहाँबाट बायटारीसम्म सडक लैजानका लागि तुलसीराम सुबेदीको जोडबल रहँदै आएको थियो । स्थानीयले बायटारीमा बस्ती नभएको र सडक आवश्यक नभएकोले ब्यक्तिको जग्गा नोक्सान गरेर बस्ती नै नभएको ठाउँमा सडक लैजान नदिने अडान लिदै आएका थिए । तुलसीराम सुबेदीले भने विगत तीन बर्षदेखि जबरजस्ती भएपनि आफ्नो खेतमा सडक पु¥याएरै छाड्ने अडानमा थिए ।
सोमबार वडा अध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीसहित हेमराज सुबेदी, डम्बरबहादुर विक, युवराज सुबेदी, तेजबहादुर पुन, पुर्णबहादुर परियारसहित झण्डै ५० जनाको संख्यामा आएको समुहले जबरजस्ती डोजर लगाएको असन्तुष्टको आरोप छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले एउटै गाउँ र बस्तीमा बस्ने बासिन्दाबिचको विवाद समाधान गर्नका लागि स्थलगत अवलोकन गरिएको बताइन । उनले केही दिनभित्रै दुबै पक्षलाई राखेर समाधान खोजिने पनि बताइन ।

spot_img

भर्खरै