
पर्वत, माघ २८–जलजला गाउँपालिकाको सातौं गाउँसभा सोमवार लामाखेतमा सम्पन्न भएको छ । कालाञ्जरक्षेत्रको विकासका लागि विशेष प्राथमिकता दिने लगायत विविध निर्णय गर्दै गाउँसभा सम्पन्न भएको हो । गाउँसभालाई सम्बोधन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण(ले जलजला गाउँपालिकाले जनताको आवश्यकताको आधारमा विकास आयोजना तथा प्रशासनिक सेवालाई अघि बढाएको जानकारी दिँदै योजनाहरूलाई जनमैत्री र पारदर्शी ढंगले कार्यान्वयन गराउन सबै जनप्रतिनिधि तथा सेवाग्राहीहरूलाई आग्रह गरे । अध्यक्ष मल्लले गाउँपालिकाको भवन निर्माणका लागि लामाखेत क्षेत्रमै जग्गा खोजी गर्न एउटा सर्बदलीय, सर्बपक्षीय समिति बनाइएको र त्यो समितिले सातदिन भित्र गाउँपालिकालाई सुझाव दिने जानकारी दिए ।
लामाखेत क्षेत्रमै प्रशासकीय भवन निर्माणका लागि पटक–पटक सूचना प्रकाशित गरि जग्गा खोजी गर्ने काम भएको तर हालसम्म निःशुल्क जग्गा उपलब्ध गराउने दाता नभेटिएको उनले बताए । गाउँपालिकाभित्रका ठूला आयोजनाहरूको डिपिआर बनाएर मात्रै काम शुरू गरिने प्रतिबद्धता जनाउदै आगामी बर्ष तीन चार वटा मुख्य सडकलाई डिपिआर गरी कालोपत्रेको काम सुरु गर्ने जानकारी मल्लले दिए ।
अध्यक्ष मल्लले आगामी बैशाख १ गतेदेखि ७ गतेसम्म जलजला गाउँपालिकाको कालाञ्जर क्षेत्रमा आयोजना गर्न लागिएको महायज्ञलाई परिणाममुखी बनाउन गाउँपालिकाका सबै जनप्रतिनिधि तथा स्थानीयबासीहरूलाई आग्रह गरे । गाउँसभाले कालाञ्जर क्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण र त्यहाँ बर्षेनी हजारौ धार्मिक तथा अन्य पर्यटक भित्राउन सकिने सम्भावना भएकोले विशेष प्राथमिकता दिएर त्यसको विकासमा लाग्ने निर्णय गरेको छ ।
गाउँसभामा चालु आर्थिक वर्षमा गाउँपालिकाबाट संचालित आयोजनाहरूको अवस्था विश्लेषण तथा फरफारक तथा संशोधन गर्ने, यस आर्थिक वर्षको छ महिनामा गाउँपालिकाबाट भएको बजेट खर्च अनुमोदन गर्ने, व्यवसाय दर्ता करमा छुट दिने, जलजला र सिंगो पर्वतकै धार्मिक तथा पर्यटकीय हबको रूपमा परिचित कालाञ्जर क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्ने तथा गाउँपालिकाको भवनका बिषयमा निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुन, वडा नं २ का वडा अध्यक्ष गोविन्द खत्री, वडा नं ३ का वडा अध्यक्ष देवेन्द्रबहादुर भण्डारी रवि, वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, वडा नम्बर ६ का अध्यक्ष होमबहादुर पुन, वडा नं ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्य, वडा नं ८ का वडा अध्यक्ष हरिविकाश जिसी र वडा नं ९ का वडा अध्यक्ष गौबहादुर पुन लगायतले बोलेका थिए ।
जलजला गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, कालाञ्जरको विकासका लागि विशेष प्राथमिकता दिइने


