पर्वत, माघ ५–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बर्तमान उपसभामुख सभामुख पदका लागि सक्षम भएको टिप्पणी गरेका छन् । प्रेस संगठन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार बिहान कुश्मामा बोल्दै उनले सभामुख पद बर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई दिदा न्याय हुने बताए ।
‘उपसभामुखज्यु बिद्धान हुनुहुन्छ, कानुनी ज्ञान छ, सक्षम पनि हुनुहुन्छ, उहाँलाई दिदा न्याय नै हुन्छ’ उनले भने । उनले अव पनि कुन पूर्व (एमाले, माओबादी)ले लिने भन्ने कुरा गर्नै नहुने धारणा राखे । उपसभामुख तुम्बाहाम्फेको अडान जायज भएपनि उनले राजीनामा दिएपछि मात्रै नेकपाले सभामुख पद पाउने बताए । ‘उहाँले उपसभामुख पदबाट राजीनामा नै दिन्न भन्नुभयो भने सभामुख पद अहिलेको कानुनअनुसार नेकपाबाट गुम्छ’ उनले भने–‘उपसभामुखले म सभामुख हुनुपर्छ भन्ने माग जायज नै छ ।’
अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओबादीबाटै सभामुख बनाउनुपर्ने अडान लिइरहेका बेला दाहालनिकट मानिएका श्रेष्ठले सभामुख पदमा कुन पूर्वले लिने भन्ने कुरा गलत भएको जिकिर गरे । ‘पूर्व भन्ने कुरा आवश्यक परे अव पार्टीको इतिहास र दस्तावेजमा मात्रै रहन्छ’ श्रेष्ठले भने–‘पद विभाजन गरेर यो पूर्व र त्यो पूर्व भन्ने गर्नुहुँदैन ।’ पछिल्लो समयमा विवादमा परेको एमसिसिको बारेमा टिप्पणी गर्न नचाहेका श्रेष्ठले त्यो नेकपाले केही दिनमा टुंगो लगाउने बताए ।
श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आगामी महाधिवेशनबाट सहमतिमा पद विभाजन हुनसक्ने संकेत गरे । ‘अहिले पार्टीभित्र संक्रमणकाल जारी छ, आगामी महाधिवेशनबाट पार्टी एकताकै भावनाअनुसार कमिटि बन्छ’ श्रेष्ठले भने । पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, पर्वतका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पदम गिरी, राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपाने उपस्थित थिए ।
पत्रकार सम्मेलनको सञ्चालन प्रेस संगठन पर्वतका संयोजक गणेश गिरीले गरेका थिए । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिएका नेकपाका प्रभावशाली नेतासमेत रहेका श्रेष्ठ प्रचारप्रसार र कार्यकर्ता भेटघाटका क्रममा पर्वत आएका हुन । उनले शनिबार पर्वतमा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए ।
बर्तमान उपसभामुख तुम्बाहाम्फे सभामुखका लागि सक्षम हुनुहुन्छ : प्रवक्ता श्रेष्ठ



